
बिनोद मजाकोटी ,लमजुङ, सुन्दरबजार नगरपालिका–स्थित रमाइलो डाँडा सामाजिक सञ्जालमार्फत भाइरल बन्दै गएपछि यहाँ दैनिक आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ। पर्यटकको चापसँगै अत्यधिक सडक भिडभाड, सवारी साधन जथाभावी पार्किङ गर्ने तथा सडकमै नाचगान गर्ने गतिविधि बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङले निगरानी कडा बनाएको छ।
ट्राफिक प्रहरीले सडकलाई अवरुद्ध हुने गरी सवारी पार्किङ नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा सार्वजनिक सडकमा अवाञ्छित गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। नियम उल्लङ्घन गर्ने सवारी चालक तथा व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ।
प्रहरीले रमाइलो डाँडामा नियमित निगरानी बढाइसकेको जनाएको छ। पर्यटकलाई रमाइलोका नाममा सार्वजनिक सडक कब्जा नगर्न, ट्राफिक नियमको पालना गर्न र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दै नियम मिच्ने जो–कोहीलाई छुट नदिइने चेतावनीसमेत दिएको छ।
पर्यटकलाई रमाइलो डाँडाको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जिम्मेवार र सभ्य व्यवहार गर्न पनि अनुरोध गरिएको छ।
