
लमजुङ — २७ माघ २०७८
लमजुङ , खैरो रङमा सेतो धर्सा भएको गलबन्दी, ज्याकेट र ढाका टोपी लगाएका वृद्ध लट्ठी टेक्दै जिल्ला प्रशासन कार्यालयभित्र छिरे । होचो कद, चिम्सा आँखा र गहुँगोरो वर्णका उनी बेलाबेला ख्वाकख्वाक खोकिरहेका थिए । प्रतीक्षालयमा बसेका धेरैको नजर उनीतिरै थियो । एक युवकले डोर्याउँदै उनलाई नागरिकता फाँट छिराए । जन्म प्रमाणितसहित वडा कार्यालयले दिएको सिफारिसपत्र फाँटमा पेस भयो । ९६ वर्षको उमेरमा नागरिकता लिन आएको भनेपछि उनले यसअघि नागरिकता लिए/नलिएको रेकर्ड खोजे पनि भेटिएन । फाँटबाट प्रशासकीय अधिकृत जगदीश मिश्र हुँदै कागजात प्रमुख जिल्ला अधिकारी सुशील वैद्यकहाँ पुग्यो । बुढ्यौली उमेर, पेन्सन सर्टिफिकेटसहितको कागजपत्र, वडाको सिफारिस, पत्नी र छोराको नागरिकताका आधारमा प्रशासनले उनलाई नागरिकता दिने निर्णय लियो । आफ्नै बुबाको नागरिकता बनाउन ४१ वर्षीय कान्छो छोराले सनाखत गरे । यद्यपि प्रशासनले नागरिकता नबनाएकाको सरजमिन गरी पठाउन प्रहरीलाई पत्र लेख्यो ।
यसरी केहीबेरमै नागरिकता हात पर्दा ९६ वर्षीय वृद्ध खुसी देखिए । विश्वयुद्ध सकिएलगत्तै सन् १९४८ मा बेलायती सेनामा भर्ती भएका कृष्णबहादुर गुरुङले मंगलबार नागरिकता पाएका हुन् । मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका उनको नागरिकतामा जन्ममिति १९८२ चैत ५ (सन् १९२६ मार्च १८) उल्लेख छ । कुनै पनि कागजातबिना बेलायती सैनिकमा भर्ती भएका उनी मलाय (मलेसिया) र सिंगापुरमा १५ वर्ष बिताएर २०१९ मा सेवा निवृत्त भएर फर्किए । घर फर्के पनि करिब दुई दशक उनी गाउँमा नियमित बसेनन् । त्यसयता भने उनी घरमै बस्छन् । पत्नी बिजमायाको २० वर्षअघि नै निधन भइसकेको छ । बेलायत सरकारले बेलायती भूपूलाई बेलायत बस्ने छुट दिए पनि कृष्णबहादुर गएनन् । ‘मलाई मेरै जन्मभूमि प्यारो लाग्यो । जहाँ बसे पनि बाँच्ने नै हो । एक दिन मर्नैपर्छ भनेर म बेलायत गइनँ,’ उनले भने, ‘धेरैले किन नगएको भनेर पनि सोधे । बेलायतका लागि जे गर्नु थियो गरियो, अब गाउँघरमै बस्छु ।’
( कान्तिपुर दैनिक )
