Fast Nepal News

बाघको डरले सम्साँझै बस्ती सुनसान

banner single news

गेरुवा, बर्दिया — २२ पुस २०७८

गेरुवा, बर्दिया, मंसिरयता गेरुवा गाउँपालिका–४ राजीपुरकी निर्मला चौधरीको दिनचर्या बदलिएको छ । घाम नअस्ताउँदै घरभित्र छिरिसक्छिन् र उज्यालो भएपछि मात्र बाहिर निस्किन्छिन् । गत मंसिर १२ मा अपराह्नतिर घरबाट केही पर भैंसीलाई पानी खुवाउन लगेका बेला निर्मलाका ससुरा कालुराम थारूलाई बाघले आक्रमण गरेर मारेपछि राजीपुर र गोला क्षेत्रका स्थानीयको दिनचर्या बदलिएको हो । ‘साँझ नपर्दै घरभित्र छिरेपछि उज्यालो नभएसम्म बाहिर निस्कँदैनौं,’ निर्मलाले भनिन्, ‘दिसा–पिसाब पनि घरभित्रै कोपरामा गर्न बाध्य भएका छौं ।’ गाईभैंसी चराइरहेका र घाँस काटिरहेका धेरै मानिस भएको ठाउँनजिकै रहेका कालुरामलाई बाघले आक्रमण गरेको थियो । राजीपुर र गोला जंगलनजिकै जोडिएका बस्ती हुन् । निकुञ्जको सीमानजिकैका यी बस्ती अचेल घाम नअस्ताउँदै सुनसान हुन्छन् । लाग्छ– बस्तीमा ‘कर्फ्यु’ लगाइएको छ । स्थानीयबासीका अनुसार तीन वर्षयता दुवै बस्तीमा दिनहुँजसो बाघ छिरिरहेको छ । हात्तीको मात्र समस्या भोग्दै आएका यहाँका बासिन्दा अहिले बाघका कारण बढी त्रसित छन् । बाघको तुलनामा हात्तीले गर्ने क्षतिका घटना केही वर्षयता कम छन् । एकै दिन एउटा बस्तीमा बाघले बितण्डा मच्चाइरहेको देखिन्छ भने नजिकैको अर्को बस्तीमा हात्तीले बबन्डर गर्ने गरेको छ । बस्तीको चारैतिर जंगल छ । ओहोर–दोहोर गर्नेक्रममा हात्ती बस्तीमा छिर्ने गरेका हुन् ।

९६८ वर्गकिमि क्षेत्र निकुञ्ज र ३२७ वर्गकिमि मध्यवर्ती क्षेत्र रहेको बर्दियामा सन् २०१८ को गणनामा ८७ वयस्क बाघ थिए । चार वर्षपछि अहिले सरकारले बर्दियासहित बाघ रहेका सबै निकुञ्जमा गणना गरिरहेको छ । आक्रमणका घटना बढेकाले निकुञ्जले धान्ने बाघ संख्या (क्यारिङ क्यापासिटी) कति हो भनेर पनि अध्ययन गर्दै छ । गेरुवाका गोला र राजीपुर क्षेत्रमा २०७६ देखि बाघ बस्तीनजिक आउन थालेको स्थानीय बताउँछन् । त्यसअघि आक्कलझुक्कल घरपालुवा चौपायामाथि आक्रमण गरे पनि मान्छेमाथि आक्रमण गरेका घटना कम थिए । यो क्षेत्रमा २०७६ भदौमा एक महिलालाई बाघले मारेको थियो । २०७७ कात्तिकमा अर्का एक पुरुषलाई मारेको थियो । तीन वर्षमा एउटै ठाउँमा बाघबाट तीन जना मारिएका छन् । गाई, भैंसी र बाख्रालगायतका पशुमाथि बाघले आक्रमण गरेका घटना कैयौं छन् । बाघबाहेक कहिलेकाहीं चितुवाले पनि क्षति गरेको छ । बस्ती पुग्ने निकुञ्जका हरेक कर्मचारीलाई स्थानीयले बाघ समातेर अन्यत्रै सारिदिन आग्रह गर्ने गरेका छन् । ‘यो बस्तीका ३२ घरमध्ये सबै कुनै न कुनै घटनाबाट पीडित छौं,’ राजीपुरका राजु चौधरीले भने, ‘बस्ती छेउबाटै बाघ कराउँदै हिँड्छ । धेरै पटक गोठबाटै गाईगोरु र बाख्रा तानेर लगेको छ । बरु, दिसा–पिसाब घरभित्रै गर्छौं बाहिर निस्कने आँट छैन ।’ बस्तीमा सबैका शौचालय घर बाहिर छन् ।

मान्छे र पशुमाथि आक्रमण गर्न थालेपछि निकुञ्जले बाघ पहिचान गर्न र तिनको आउजाउ अनुगमन गर्न बस्ती आसपास स्वचालित क्यामेरा जडान गरेको थियो । क्यामेरा जडानपछि गत मंसिर १२ मा कालुराम थारूलाई दिउँसै आक्रमण गर्ने बाघले भोलिपल्टै बस्तीमा छिरेर एउटा भैंसीलाई आक्रमण गरेको पुष्टि भएको थियो । त्यसलगत्तै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को बर्दिया संरक्षण कार्यक्रमका प्राविधिकले त्यो बाघलाई नियन्त्रणमा लिएका छन् । दिनहुँजसो बाघले आजित पार्न थालेपछि गाउँलेको मनोबल बढाउन निकुञ्जले अहिले गेरुवा–४ राजीपुरमा तीनवटा हात्तीसहित ६ जना प्राविधिक परिचालन गरेको छ । उनीहरूको टोली बस्तीको बीचमा ‘क्याम्पिङ’ गरेर बसेको छ । बस्तीनजिकै बाघलगायतका वन्यजन्तु देखापरे हो–हल्ला गरेर धपाउन र अनुगमन गर्न हात्तीसहितका कर्मचारी परिचालन गरिएको हो । स्थानीयको गुनासो तत्कालै सम्बोधन गर्न सकियोस् भनेर गेरुवा–५ बन्जरियामा (बन्जरिया रेन्जपोस्ट) मा प्राविधिकसहितको गाडी ‘स्ट्यान्ड बाई’ राखिएको छ । गेरुवाको मनाउदेखि गोलासम्मकै बस्ती पछिल्ला दिनमा बाघ र हात्तीका कारण अक्रान्त छन् । गेरुवाभित्र पशुपतिनगर, गोला, पाताभार र मनाउ गरी साविकका चार गाविस छन् । विगतमा यी सबै हात्तीपीडित क्षेत्र हुन् ।

हात्तीमा विद्यावारिधि गरिरहेका बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार भारतको नन्धौर वाइल्डलाइफ सेन्चुरीमा समूहमा रहेका हात्ती कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी हुँदै खाता करिडोरबाट बर्दिया छिर्छन् । तिनै हात्तीले बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रका बस्तीमा क्षति गर्ने गरेका छन् । पछिल्लो पटक पुस १८ मा राजापुर–९ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । उक्त घटनाको दुई दिनपछि मंगलबार त्यही क्षेत्रनजिक विद्युतीय धरापमा परेर एउटा जंगली हात्ती मरेको छ । पटक–पटक मान्छेमाथि आक्रमण गरेको पुष्टि भएपछि त्यस्तो बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ तर बस्तीआसपास बाघ आउन भने छाडेको छैन । अहिले पनि बस्ती आसपासमै तीनवटा बाघ हिँड्ने गरेको छ । बस्ती छिर्ने बाघ पहिचान गर्न अहिले निकुञ्जले क्यामेरा जडान गरेको छ । गत साता गेरुवा–४ को खल्लागाउँमा एउटै बाघले दुईवटा गोरुलाई आक्रमण गरी घाइते बनाएको थियो भने अर्को गोठबाट एउटा गाई लगेको थियो । ‘बाघ आएको थाहा थियो तर धपाउन सक्ने आँट भएन, उज्यालो नभएसम्म बाहिर निस्किँदैनौं,’ खल्लागाउँका दलबहादुर हमालले सुनाए, ‘रातैभरि बस्तीआसपास बाघको रजाइँ छ ।’

Inside Article Ads

बस्तीनजिकको खेतमा बाढी पसेर बगर बनेका कारण उब्जनी गर्न छाडिएपछि स्थानीयका धेरै जमिन घाँसेमैदानमा परिणत भएको छ । खाली जमिनमा बाघका आहार मृग प्रजाति र जंगली बँदेलको संख्या बढेको छ । ती आहारकै खोजीमा आएका बाघले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ । त्यही भएर निकुञ्ज र गाउँपालिकाको लगानीमा साना प्रजातिका वन्यजन्तुलाई बस्ती आउनबाट रोक्न गत वर्षदेखि नै मेसजाली बार लगाउन सुरु गरिएको छ । मेसजालीबाट साना वन्यजन्तु छिर्न नसक्ने भएकाले ती वन्यजन्तु बस्तीतिर नआउँदा बाघसमेत रोकिने प्राविधिकहरूको बुझाइ छ । खेती गर्न छाडेपछि झाडी बनेको जमिनलाई खुला गर्ने काम पनि सुरु गरिएको छ । त्यसो गर्दा सीधै बस्तीबाट टाढासम्म वन्यजन्तुको आउजाउ अवलोकन गर्न सकिने भएकाले सम्भावित जोखिमबाट बच्न सहयोग पुग्ने स्थानीयको अपेक्षा छ । झाडी हटाएर सम्याउने काम पनि भइरहेको छ । चालु वर्ष बस्ती फैलिएका र जंगलसँग जोडिएका गाउँलाई छेक्ने गरी १२ देखि १४ किलोमिटर लामो बार लगाउने योजना छ । ‘त्यसो गर्न सकिए केही हदसम्म बाघका आहार प्रजाति बस्तीनजिक नआउलान् भन्ने विश्वास छ,’ राजीपुरका राजु चौधरीले भने, ‘हाम्रो अर्को माग भनेको समस्या निम्त्याइरहेका र मान्छेलाई आक्रमण गरेका बाघलाई नियन्त्रणमा लिनुपर्छ भन्ने हो ।’

मधुवन नगरपालिकामा पर्ने भारतीय सीमा जोडिएको खाता जैविकमार्ग क्षेत्रमा पनि बाघको आक्रमणबाट २०७५ माघदेखि २०७८ जेठसम्म ७ जनाको ज्यान गएको छ । त्यसरी आक्रमण गर्नेमध्येको एउटा बाघ निकुञ्जले २०७७ चैत ५ मा नियन्त्रणमा लिएर बाँके निकुञ्जको खोरमा पठाएको थियो । सीमाक्षेत्रमा जडान गरिएको स्वचालित क्यामेराले उक्त क्षेत्रमा ५ वटा बाघ नेपाल–भारत ओहोरदोहोर गर्ने देखाएको छ । निकुञ्जको भित्री क्षेत्रमा फरक–फरक समयमा तीन जनाको ज्यान लिएको बाघलाई पनि नियन्त्रणमा लिएर निकुञ्जले २०७७ चैत २२ मा सदर चिडियाखाना पठाएको थियो । निकुञ्जका माउतेद्वय मंगरु थारू र पुलिसराम थारू तथा न्युरो टिप्न गएकी डल्ली राउतलाई त्यही बाघले आक्रमण गरेको पुष्टि भएपछि बगौराफाँटाबाट नियन्त्रणमा लिइएको थियो । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघले समस्या गरेको क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनुगमन गरिरहेको बताए । ‘समस्या दोहोरिएका क्षेत्रलाई निगरानी गर्ने, क्यामेरा जोडेर समस्याग्रस्त बाघ पहिचान गर्ने काम भइरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘मान्छेलाई धेरै आक्रमण गरेका, धेरै पशु क्षति गरेका र अशक्त बाघलाई नियन्त्रण गर्नुको विकल्प छैन, त्यो काम जारी छ ।’

आर्थिक वर्ष २०७७/७८ मा मात्र बर्दिया निकुञ्जमा बाघको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दीर्घकालीन समाधानका रूपमा निकुञ्जले बढी प्रभावित क्षेत्रमा बिमा गर्ने नीति लिएको छ । पहिलो चरणमा वन्यजन्तुले बढी क्षति गरेको ठाकुरबाबा नगर र गेरुवा गाउँपालिकाबाट बिमाको थालनी गर्न खोजिएको श्रेष्ठले बताए । त्यस्तै, पालिकाहरूसँगको सहकार्यमा एकीकृत फेन्सिङ (मेसजाली) गर्ने, बस्तुभाउलाई चराउने प्रचलनबाट विस्थापित गरी उन्नत जातका पशुपालनमा जोड दिने र डाले घाँस रोप्न पनि प्राथमिकता दिइएको छ । निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक योजना (२०७८–२०८३) पनि लागू गरेको छ । पाँचवर्षे योजनामा निकुञ्ज, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यबाट द्वन्द्व न्यूनीकरण गर्ने तथा स्थानीयको जीविकोपार्जनमा सुधार कार्यक्रमलाई जोड दिइएको छ । ‘वन्यजन्तुको आक्रमणमा परी अंगभंग भएका र मृत्यु भएका व्यक्तिका आश्रित परिवारलाई राहत रकमको अतिरिक्त जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिने’ योजनामा उल्लेख छ । यो कार्यक्रमका लागि बर्दियामा ५ वर्षमा २ अर्ब ७७ करोड २३ लाख ५० हजार रुपैयाँ खर्च गर्ने उल्लेख छ ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.