
बर्दिया — २८ मंसिर २०७८
बर्दिया , राजापुर–१ हिमालीपुरकी चित्रा सोनाहा कर्णाली नदीमा बालुवामा सुन चाल्दै छिन् । आफन्तका साथ कर्णालीको तीरमा पुग्नु उनको बाध्यता हो । नदी किनारको बालुवा चालेर फेला पर्ने सुनले उनको दैनिक गुजारा चल्ने गरेको छ । बालुवा चालेर सुन निकाल्ने सोनाहा जातिका थुप्रै महिला छन् । कर्णाली किनारमा सुन चाल्न दैनिक २०/२५ जनाको समूह हुन्छ । कर्णाली नदीको जलस्तर घट्दै गएपछि महिलाहरू सुन खोज्न डुल्छन् । अन्य समय खेती र मजदुरी गर्न व्यस्त हुने सोनाहा महिला हिउँदका दिनमा एक परिवारले बालुवा चालेर दैनिक तीन/चार लालसम्म सुन निकाल्छन् । कर्णाली नदीको दौलतपुर, पाताभार लगायतका ठाउँमा सुन खोज्ने गर्छन् । एक लाल काँचो सुनको मूल्य ७ सय रुपैयाँ पर्छ । सुन खरिद गर्न खोलामै व्यवसायी आउने गरेको चित्राले बताइन् । ‘काँचो सुन तोलाको करिब ७५ हजारसम्म बिक्री हुन्छ,’ उनले भनिन्, ‘मिहिनेत अनुसार सुन भेटिँदैन ।’ कहिलेकाहीँ दिनभर चाल्दा एक लाल पनि सुन नपाइने उनले बताइन् । सुन चाल्न डुडी, छवना, सिनौटा, ओधार, घाना, साची, खोरिया र जाख चाहिन्छ । यी सामग्री काठबाट बनेका हुन्छन् । बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा झन्डै १ हजार २ सय सोनाहा जातिको जनसंख्या छ । बर्दियामा ७ सय २९ जना सोनाहा जातिको बसोबास छ ।
बर्दियाको कर्णाली तटीय क्षेत्रको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा रहेका सोनाहा पुरुषभन्दा महिलाको संख्या एक सय बढी रहेको समाजले जनाएको छ । बेरोजगारीका कारण सोनाहा बस्तीमा पुरुषको संख्या निकै कम छ । बेरोजगारीका कारण सीमावर्ती भारतको उत्तर प्रदेश राज्यस्थित बहराइच, लखिमपुरलगायतका जिल्लामा गिट्टी कुट्ने, रिक्सा चलाउने, माछा मार्ने, मजदुरी गरी निर्वाह गर्दै आएको गेरुवा–१ का धनबहादुर सोनाहाले बताए । दुई दशकअघिसम्म कर्णाली नदीमा माछा प्रशस्त पाइने र त्यसैबाट निर्वाह चल्ने गरेको भए पनि अहिले सिंचाइ, तटबन्ध र तटीय क्षेत्रका चल्ने डोजर, टिपर लगायतका ठूला सवारी साधनका कारण सोनाह जाति यस पेसाबाटै पलायन हुन थालेको उनले बताए ।
( कान्तिपुर दैनिक )
