Fast Nepal News

सुन खोज्न कर्णाली तीरैतीर

banner single news

बर्दिया — २८ मंसिर २०७८

बर्दिया , राजापुर–१ हिमालीपुरकी चित्रा सोनाहा कर्णाली नदीमा बालुवामा सुन चाल्दै छिन् । आफन्तका साथ कर्णालीको तीरमा पुग्नु उनको बाध्यता हो । नदी किनारको बालुवा चालेर फेला पर्ने सुनले उनको दैनिक गुजारा चल्ने गरेको छ । बालुवा चालेर सुन निकाल्ने सोनाहा जातिका थुप्रै महिला छन् । कर्णाली किनारमा सुन चाल्न दैनिक २०/२५ जनाको समूह हुन्छ । कर्णाली नदीको जलस्तर घट्दै गएपछि महिलाहरू सुन खोज्न डुल्छन् । अन्य समय खेती र मजदुरी गर्न व्यस्त हुने सोनाहा महिला हिउँदका दिनमा एक परिवारले बालुवा चालेर दैनिक तीन/चार लालसम्म सुन निकाल्छन् । कर्णाली नदीको दौलतपुर, पाताभार लगायतका ठाउँमा सुन खोज्ने गर्छन् । एक लाल काँचो सुनको मूल्य ७ सय रुपैयाँ पर्छ । सुन खरिद गर्न खोलामै व्यवसायी आउने गरेको चित्राले बताइन् । ‘काँचो सुन तोलाको करिब ७५ हजारसम्म बिक्री हुन्छ,’ उनले भनिन्, ‘मिहिनेत अनुसार सुन भेटिँदैन ।’ कहिलेकाहीँ दिनभर चाल्दा एक लाल पनि सुन नपाइने उनले बताइन् । सुन चाल्न डुडी, छवना, सिनौटा, ओधार, घाना, साची, खोरिया र जाख चाहिन्छ । यी सामग्री काठबाट बनेका हुन्छन् । बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा झन्डै १ हजार २ सय सोनाहा जातिको जनसंख्या छ । बर्दियामा ७ सय २९ जना सोनाहा जातिको बसोबास छ ।

झट्ट हेर्दा थारु समुदायजस्तो लाग्ने सोनाहाको आफ्नै भाषा, संस्कृति, रहनसहन छ । सुन खोज्ने सोनाहा जातिको पुर्ख्यौली पेसा रहेको स्थानीय गोपाल थारुले बताए । ‘तर, अहिले संकटमा छ,’ उनले भने, ‘धेरैले सुन खोज्नै छोडे ।’ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको कर्णाली नदीको भँगालो गेरुवामा माछा मार्ने, सुन चाल्न रोक लगाएपछि सोनाहाको पेसा संकटमा परेको उनले बताए । अहिले उनीहरू पश्चिम कर्णाली नदीमा सुन चाल्ने र माछा मार्ने गर्छन् । तीन दशकदेखि निकुञ्जले गेरुवा नदीमा माछा मार्ने, ढुंगा गिट्टी, बालुवा संकलनमा रोक लगाएको छ । पश्चिम नेपालका अल्पसंख्यक सोनाहालाई सरकारले जनजातिमा सूचीकृत नगरेकाले राज्यबाट पाउने सुविधाबाट वञ्चित छन् । सोनाहालाई जनजातिमा सूचीकृत गर्न विगत दुई दशकदेखि माग भइरहेको छ । सरकारले माग पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । २०७२ मंसिर १९ गते सर्वोच्च अदालतले सोनाहा जातिलाई सूचीकृतको परमादेश दिए पनि सरकारले कार्यान्वयन नगरेको सोनाहा समाज विकास समाजका अध्यक्ष बलबहादुर सोनाहाले बताए ।  
Inside Article Ads

बर्दियाको कर्णाली तटीय क्षेत्रको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा रहेका सोनाहा पुरुषभन्दा महिलाको संख्या एक सय बढी रहेको समाजले जनाएको छ । बेरोजगारीका कारण सोनाहा बस्तीमा पुरुषको संख्या निकै कम छ । बेरोजगारीका कारण सीमावर्ती भारतको उत्तर प्रदेश राज्यस्थित बहराइच, लखिमपुरलगायतका जिल्लामा गिट्टी कुट्ने, रिक्सा चलाउने, माछा मार्ने, मजदुरी गरी निर्वाह गर्दै आएको गेरुवा–१ का धनबहादुर सोनाहाले बताए । दुई दशकअघिसम्म कर्णाली नदीमा माछा प्रशस्त पाइने र त्यसैबाट निर्वाह चल्ने गरेको भए पनि अहिले सिंचाइ, तटबन्ध र तटीय क्षेत्रका चल्ने डोजर, टिपर लगायतका ठूला सवारी साधनका कारण सोनाह जाति यस पेसाबाटै पलायन हुन थालेको उनले बताए ।

( कान्तिपुर दैनिक )

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.