Fast Nepal News

उच्च जोखिमयुक्त क्षेत्रमै खोप सुस्त

banner single news

धनगढी — ०७ माघ २०७८

धनगढी , भारतसँग सीमा जोडिएकाले कोरोना संक्रमणको जोखिम अन्यत्रभन्दा बढ्ता रहेको र संक्रमण दर पनि दैनिक ५० प्रतिशभन्दा माथि रहेको सुदूरपश्चिममा खोप अभियान सुस्त छ । कतिपय स्थानीय बासिन्दाले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भए पनि खोप लगाउन बेवास्ता गरेका छन् । त्यस्तै, हाल बुस्टर डोजका लागि मात्रा अपुग हुने देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सुदूरपश्चिममा मंगलबारदेखि बुस्टर डोज लगाइने भनिएको भए पनि यस प्रदेशमा बिहीबारसम्म बुस्टर डोज उपलब्ध हुन सकेको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बुस्टर डोजका लागि कोभिसिल्ड १ लाख ५० हजार र भेरोसिल ५० हजार मात्रा प्राप्त भएको बताए । ‘खोप अभियान सञ्चालन गर्न सम्बन्धित जिल्लाले स्थानीय तहसँगको समन्वयमा मिति तय गर्नेछन्,’ प्रवक्ता कार्कीले भने, ‘बुस्टर डोजका लागि प्राप्त मात्रा अत्यन्तै कम छ, विस्तारै थपिँदै जाला ।’

चार दिनपछि माघ १० गतेदेखि खोप प्रदान गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । ‘बालबालिकालाई प्रदान हुने नियमित खोपको समय भएकाले कोभिडविरुद्धको बुस्टर डोज केही दिन ढिला सारेका हौं,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललित धामीले भने, ‘कैलाली जिल्लाभरका लागि बुस्टर डोजको मात्र १६ हजार मात्र आइपुगेको छ । समस्या होला जस्तो देखिएको छ । अहिले आएको कोभिसिल्ड हो ।’ हालसम्मको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा १० लाख २३ हजार ७६४ जनाले दुवै मात्रा खोप लगाएको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । पहिलो मात्र खोप मात्र लगाउनेका संख्या १५ लाख ९६ हजार ५९६ छ । प्रदेश सरकारले २० लाख नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन योग्य नागरिकको सूचीमा राखेको छ । निर्देशनालयका तथ्यांक सहायक डीएन गिरीले भने, ‘यस प्रदेशमा १९ लाख ४८ हजार ३ सय ८८ लाई खोप लगाउने लक्ष्य छ ।’

निर्देशनालयका अनुसार सुदूरपश्चिमा हालसम्म कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाउनेको संख्या सबैभन्दा धेरै कैलालीमा छ । कैलालीमा दुवै मात्रा खोप लगाउनेको संख्या ३ लाख २४ हजार ८६७ रहेको छ भने पहिलो मात्रा मात्र लगाउनेको संख्या भने ४ लाख ६७ हजार ८६१ रहेको छ । कैलालीपछि धेरै खोप लगाउनेको संख्या कञ्चनपुरमा छ । कञ्चनपुरमा दुवै मात्रा खोप लगाउनेको संख्या २ लाख २४ हजार ४७७ छ । पहिलो मात्रा ३ लाख ४३ हजार १५२ जनाले लगाएका छन् । यस्तै, बाजुरामा ७३ हजार ९७९ ले मात्रा पूर्ण खोप लगाएका छन् । पहिलो मात्रा मात्र लगाउनको संख्या बाजुरामा १ लाख २४ हजार ९२४ छ । बझाङमा ५० हजार १२३ जनाले पूर्ण मात्रा खोप लाएका छन् भने पहिलो मात्रा मात्र लगाउनको संख्या ९८ हजार २९३ छ । दार्चुला जिल्लामा ६० हजार ५९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्रा मात्र लगाउनेको संख्या ८६ हजार ९४६ छ ।

Inside Article Ads

अर्को जिल्ला बैतडीमा ९० हजार ७२५ जनाले दुवै मात्रा लगाएका छन् भने पहिलो खोप मात्र लगाउनेका संख्या एक लाख ५१ हजार २५४ जना तथ्यांक छ । डडेलधुरामा ५२ हजार ४०५ जनाले दुवै मात्रा खोप लगाएका छन् । पहिलो मात्रा मात्र लगाउनेको संख्या ६५ हजार १३४ जना छन् । डोटीमा ६० हजार ९७६ जनाले दुवै मात्रा खोप पाएका छन् । पहिलो मात्रा मात्र लगाउनेको संख्या एक लाख १८ हजार ८८४ छ । अछाममा ८५ हजार ५२२ जनाले पूर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्रा मात्र लगाउनेको संख्या एक लाख ३७ हजार २४३ छ । भारतबाट स्वदेश फर्किनेहरूलाई सीमा नाकामै कोरोना विरुद्धको खोप लगाइँदै आएको गिरीले बताए । यस्तै अत्यधिक भीडभाड हुने कार्यालयहरू मालपोत, यातायातलगायत कार्यालय परिसरमै डेस्क स्थापना गरेर पहिलो र दोस्रो मात्रा खोप लगाउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । नलगाएकाहरूलाई दुई साता यता गौरिफन्टा र गड्डा चौकी सीमा नाकामा खोप लगाइँदै आएको छ । स्वास्थ्यकर्मीहरूले तेस्रो भेरिएन्ट फैलिन थालेको त्रास बढेसँगै खोपमा जोड दिनुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । बिहीबारसम्म सुदूरपश्चिमा ३ हजार २१ जना सक्रिय संक्रमित छन् ।              

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.