
काठमाडौँ — २५ पुस २०७८
काठमाडौँ , सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म (करिब तीन दिन) आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएको बताए । प्रधानमन्त्री शनिबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटेर आएलगत्तै आइसोलेसनमा बसेका हुन् ।
दाहाललाई कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैठकमा सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।
माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई पनि कोभिड संक्रमण भएको छ । यी नेताहरू पछिल्लो समय दाहालको सम्पर्कमा थिए । दाहालको सचिवालयले स्वास्थ्यमा असहजता देखिएपछि गरिएको परीक्षणमा कोभिड संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकालाई सतर्कता अपनाउन आग्रह गरेको छ । दाहाल निवास खुमलटारमा बस्दै आएका सबैको शुक्रबार पीसीआर परीक्षण गरिएको थियो, जसमा उनका स्वकीय सचिव रमेश मल्लमा पनि संक्रमण भेटिएको थियो ।
( कान्तिपुर दैनिक )
