Fast Nepal News

पोखरामा मनाङको चमक

banner single news

पोखरा — ४ पुस २०७८

पोखरा , राजधानीबाहिर पहिलोपल्ट भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ऐमितहासिक खेलमा मनाङ मर्स्याङ्दी क्लबले पुलिस क्लबविरुद्ध ३–१ को सहज जित निकालेको छ । मनाङले शनिबार ३ अंक जोड्दै शीर्षस्थानमा रहेको मछिन्द्र क्लबलाई पछि पारेको छ । ५ खेलबाट मनाङले १३ अंक जोडेको छ । अघिल्लो दिन संकटासँग बराबरीमा रोकिएको मछिन्द्रसँग ११ अंक छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङका कप्तान अञ्जन विष्ट चम्किँदा खेल एकतर्फीजस्तै बन्यो । अञ्जनले १० औं मिनेटमा पहिलो गोल गरे । डिफेन्डर दिनेश राजवंशीको प्रहारमा पुलिसका गोलकिपर रोशन खड्काको कमजोरीमा अञ्जनले सदुपयोग गरेका थिए । दिनेशको लामो पासलाई रोशनले पेनाल्टी एरियाबाहिर गएर क्लियर गर्न खोज्दा बाउन्स भएको बललाई अञ्जनले नियन्त्रणमा लिएर गोल गरे ।

खेलको ३६ औं मिनेटमा मनाङका डिफेन्डर सरोज योञ्जन लामाको गल्तीमा पुलिसले पेनाल्टी पायो । सरोजले पुलिसका नीरकुमार राईलाई पेनाल्टी एरियामा लडाएपछि प्राप्त पेनाल्टीमा सुमनले गोल गर्दै खेल बराबरीमा ल्याए । लिगमा उनको तेस्रो गोल हो । सुरुदेखि आक्रामक खेलेको मनाङले पर्याप्त गोल अवसर सिर्जना गर्न भने सकेन । ३९ औं मिनेटमा मिडफिल्डर पुजन उपरकोटीको कर्नरमा अफिज ओलावालेको हेडर क्रसबारमाथिबाट बाहिरियो । दोस्रो हाफमा भने मनाङले खेलमा सुधार ल्यायो । दर्शकको समर्थन पाएकाले पनि मनाङलाई दोस्रो हाफ फाइदाजनक भयो । पहेँलो कार्ड पाएका ५ खेलाडी भएकाले दोहोरो कार्ड पाउन सक्ने सम्भावना समाप्त गर्न मनाङले दोस्रो हाफमा चार खेलाडी परिवर्तन गर्‍यो । ७३ औं पुलिसका डिफेन्डर सन्तोष हेमरनको पेनाल्टी एरियाबाहिर ह्यान्ड भएपछि प्राप्त फ्रिकिक मनाङका लागि अवसर साबित भयो । अञ्जनको प्रहार आकर्षक ढंगमा गोलमा परिणत भएपछि मनाङ २–१ ले अगाडि रह्यो ।
Inside Article Ads
मनाङका वैकल्पिक खेलाडी निशान लिम्बुले ८३ औं मिनेटमा गोल गरेर पुलिसविरुद्धको अन्तर बढाए । ओलावालेको प्रहार पुलिसका गोलकिपर रोशनले पञ्च गरेर क्लियर गर्न खोज्दा रिबाउन्डमा निशानले गोल गरे । मनाङ ३–१ को जित निकाल्न सफल भयो । मनाङका प्रशिक्षक टोपे फुजाले ‘होम ग्राउन्ड’ मा लिगको पहिलो खेल भएकाले सुरुमा केही अप्ठेरो देखिएको बताए । दोस्रो हाफमा भने आफ्नो टिमले खेल सुधार्दा जित सम्भव भएको उनको भनाइ थियो । ‘पुलिस छरितो खेल्ने बलियो र व्यवस्थित टिम हो,’ उनले भने, ‘हाम्रा लागि कठिन चुनौती हुँदाहुँदै जित हासिल गर्‍यौं ।’ खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए । पुलिसका नीरकुमार राई उदीयमान खेलाडी बने । मनाङले पोखरामा पुस १७ मा ब्रिगेड ब्वाइजसँग खेल्नेछ । आठौं चरणमा अन्तिम खेल पुस २४ मा मनाङ र च्यासल युथबीच पोखरामा हुनेछ । एन्फाको ‘होम एन्ड अवे’ को अवधारणाअनुसार पहिलोपल्ट लिग राजधानीबाहिर भएको हो ।         

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.