
पोखरा — ४ पुस २०७८
पोखरा , राजधानीबाहिर पहिलोपल्ट भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको ऐमितहासिक खेलमा मनाङ मर्स्याङ्दी क्लबले पुलिस क्लबविरुद्ध ३–१ को सहज जित निकालेको छ । मनाङले शनिबार ३ अंक जोड्दै शीर्षस्थानमा रहेको मछिन्द्र क्लबलाई पछि पारेको छ । ५ खेलबाट मनाङले १३ अंक जोडेको छ । अघिल्लो दिन संकटासँग बराबरीमा रोकिएको मछिन्द्रसँग ११ अंक छ । पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङका कप्तान अञ्जन विष्ट चम्किँदा खेल एकतर्फीजस्तै बन्यो । अञ्जनले १० औं मिनेटमा पहिलो गोल गरे । डिफेन्डर दिनेश राजवंशीको प्रहारमा पुलिसका गोलकिपर रोशन खड्काको कमजोरीमा अञ्जनले सदुपयोग गरेका थिए । दिनेशको लामो पासलाई रोशनले पेनाल्टी एरियाबाहिर गएर क्लियर गर्न खोज्दा बाउन्स भएको बललाई अञ्जनले नियन्त्रणमा लिएर गोल गरे ।
( कान्तिपुर दैनिक )
