Fast Nepal News

खसीबोका खरिद गर्न व्यापारी गोठमै पुग्छन्

banner single news

सल्यान — २५ श्रावण  २०७८

त्रिवेणी गाउँपालिकास्थित लुहामका ५६ वर्षीय खोपीराम भण्डारीले व्यावसायिक बाख्रापालन गर्न थालेको ८ वर्ष भयो । उनको फार्ममा अहिले उन्नत जातका ९२ खसीबोका, बाख्रा र पाठापाठी छन् ।वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका उनको घर खर्च यसै व्यवसायले टरेको छ । उनका छिमेकी अर्जुन श्रेष्ठले पनि स्थानीय जातका कुखुरापालन गरी सातामा झन्डै २ हजार अण्डा उत्पादन गरिरहेका छन् ।

बजार र भाउ बढ्दै गएपछि त्रिवेणीका गाउँगाउँमा व्यावसायिक पशुपन्छीपालनको लहर चलेको छ । सडक पुगेपछि व्यापारीले गोठमै आएर खसीबोका खरिद गर्ने भण्डारीले बताए । ‘अहिले त बिहानदेखि अबेरसम्मै बाख्राको स्याहारसुसारमा समय बित्छ,’ उनले भने, ‘बजारमा माग बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको छ ।’ श्रेष्ठले कुखुरापालनबाट वार्षिक झन्डै ५ लाख रुपैयाँ आम्दानी भइरहेको बताए । उनको फार्ममा दुई युवाले रोजगारी पाइरहेका छन् ।नजिकै वनजंगल भएकाले र खाद्यबाली लगाउने जग्गामा घाँसखेती गरेकाले पशुपालनमा समस्या नभएको भण्डारीले बताए । ‘फोनकै आधारमा व्यापारीले घरमै आएर बाख्रा खरिद गरिरहेका छन्, अरू पशुपालनभन्दा बाख्रा पाल्न सजिलो छ,’ उनले भने, ‘आम्दानी पनि बढी भएकाले गाउँका युवालाई बाख्रापालनमा लाग्न सल्लाह दिँदै आएको छु ।’
Inside Article Ads

८ वटा उन्नत जातका गाई पालिरहेका लुहामका अर्का किसान कृष्ण रेउलेले व्यवसायबाट आत्मनिर्भर बनेको बताए । उनको फार्मबाट अहिले दैनिक ३० लिटर दूध बिक्री हुन्छ । ‘न बजारको समस्या छ, न भाउको,’ उनले भने, ‘आफ्नै गाउँमा मनग्गे आम्दानी गर्न थालेपछि आत्मसन्तुष्टि मिलेको छ, मेरै प्रेरणाले गाउँमा अरू युवासमेत व्यावसायिक कृषि र पशुपालनमा लाग्न थालेका छन् ।’ स्थानीय बजारमा ६० रुपैयाँ प्रतिलिटर दूध बिक्री भएको छ । गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपन्छीपालनमा आकर्षित गर्न अनुदानको कार्यक्रम ल्याएको छ ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.