Fast Nepal News

संक्रमितले भरिँदै बेलायतका अस्पताल

banner single news

लन्डन — २५ पुस २०७८

लन्डन , कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बनेसँगै बेलायतका अस्पताल संकटपूर्ण अवस्थामा पुगेका छन् । बिरामीको चाप बढेको र स्वास्थ्यकर्मी तथा कर्मचारी घरैमा आइसोलेसनमा बस्नुपरेपछि अस्पतालले अत्यावश्यकीय सेवा प्रवाह गर्न सकेका छैनन् । उत्तरपश्चिम इंग्ल्यान्डमा तत्काल जरुरी नभएका अपरेसन रद्द गरिएको छ भने बेलायतभर २४ अस्पतालले संकटपूर्ण अवस्था आएको घोषणा गरेका छन् । कतिपय ठाउँमा बिरामीले एम्बुलेन्सका लागि २४ घण्टा कुर्नुपरेको बताइएको छ । इंग्ल्यान्डमा अहिले १५ जनामा एक जना संक्रमित छन् । बेलायतमा दैनिक संक्रमितको संख्या अत्यधिक बढेपछि स्वास्थ्य क्षेत्र प्रभावित छ । यहाँ दैनिक २ लाख हाराहारी संक्रमित थपिने गरेका छन् । देशभरका अस्पतालमा हाल करिब ११ हजार संक्रमित भर्ना भएको जनाइएको छ । यसअघिको डेल्टाजस्तो घातक नभए पनि अति संक्रामक ठानिएको ओमिक्रोनका कारण आगामी साताहरूमा अस्पतालले थप चाप बेहोर्नुपर्ने देखिएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । जोन्सनले ‘कोभिड महामारी अन्त्य भएको ठान्नु मूर्खता हुने’ बताएका छन् । हाल अस्पतालको आईसीयूमा रहेका बिरामी खोप वा बुस्टर डोज नलगाएका बढी भएको पाइएका जोन्सनको भनाइ छ । यद्यपि, यो अन्य भेरिएन्टभन्दा कम घातक भएको प्रधानमन्त्रीको धारणा रहेको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतमा शुक्रबार मात्र १ लाख ७८ हजार २ सय ५० जना संक्रमित भएका छन् भने २ सय २९ जनाले ज्यान गुमाएका छन् । संक्रमण बढेसँगै सरकारले बुस्टर खोपलाई प्राथमिकता दिँदै सबैलाई खोप लगाउन आग्रह गरेको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले लन्डनका अस्पतालमा पनि बिरामी भर्ना उच्च हुन सक्ने चेतावनी दिएका छन् । एनएचएसमा अहिले १० मा एक जना कर्मचारी संक्रमित भएर अनुपस्थित भएका तथ्यांकले देखाएको छ । लन्डन, योर्कसायर र इसेक्सका दर्जन बढी अस्पतालले कोभिड बिरामी बढेपछि भेटघाटका लागि भिजिटर आउन प्रतिबन्ध लगाएका छन् । बेलायती शिक्षामन्त्री नधिम जहावीले ५० वर्षभन्दा माथिको उमेर समूहमा ओमिक्रोन फैलिइरहेको जनाएका छन् । तर उनले ९० प्रतिशत बढी वृद्धवृद्धाले बुस्टर खोप लगाइसकेकाले अहिले इंग्ल्यान्डमा तत्काल थप प्रतिबन्ध आवश्यक पर्ने तथ्यांकले नदेखाएको बताए । बेलायत सरकारले देश भित्रिने यात्रुहरूका लागि गर्दै पीसीआर टेस्ट अनिवार्य गर्नुपर्ने नियम यही शुक्रबारदेखि हटाउने भएको हो । प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको विस्तारसँगै लागू नियम अहिले सही समयमा पुनरावलोकन गरिएको जनाएका छन् ।

Inside Article Ads

यद्यपि, सरकारले इंग्ल्यान्डका माध्यमिक तह पढ्ने सबै विद्यार्थीले कोभिड परीक्षण र मास्क अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालय (अफिस फर नेसनल स्टाटिस्टिक्स) ले गत ३१ डिसेम्बरमा सार्वजनिक गरेको तथ्यांकअनुसार ७५ वर्ष र १५ देखि २४ वर्ष उमेर समूहका मानिस अस्पताल भर्ना हुने क्रम बढे पनि अन्य समूहमा घटेका पाइएको थियो । नेपलिज् डक्टर्स एसोसिएसन यूके अध्यक्ष तथा कन्सल्टेन्ट सर्जन डा. कमल अर्यालले ४ सय बेडको आफू कार्यरत अस्पतालमा कोभिड बिरामी झन्डै दोब्बर बढेको बताए । पहिलेका दुई लहरभन्दा हाल चाप कम भए पनि बिरामी भर्ना बढ्दै गएको अर्यालले जनाए । ‘नडराई बस्न सकिने अवस्था छैन,’ अर्यालले सुझाए, ‘बुस्टर डोज लगाएर सबैजना सुरक्षित रहनुस् ।’ डारेन्ट भ्याली अस्पताल डार्टफोर्डमा एपिलेप्सी स्पेसलिस्ट नर्स तथा नेपलिज् नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष सुनिता गौतमले ओमिक्रोनका कारण नर्सलाई चुनौती थपिएको बताइन् । ‘बिरामी भर्ना वृद्धिसँगै नर्सहरू नै संक्रमित भएर थप मार परेको छ,’ उनले भनिन् । डार्टफोर्ड नेपाली समुदायमा धेरै नेपालीसमेत ओमिक्रोन संक्रमित रहेको उनले जनाइन् । क्विन एलिजाबेथ अस्पतालमा कार्यरत स्पेसलिस्ट नर्स सुशीला कार्की पनि आफ्नो अस्पतालमा कोभिड बिरामी भर्ना हुनेक्रम बढेपछि त्यसले सामान्य बिरामी परीक्षण तालिका फेरिएको बताउँछिन् ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.