Fast Nepal News

नेपाली टेबलटेनिस खेलाडीका लागि स्विस प्रशिक्षक पावेलको ३२ लाख सहयोग

banner single news

काठमाडौं, मंसिर २४ – स्वीजरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेबलटेनिस खेलाडीहरूका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन्। पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराएका हुन्।

पावेलले हालै सेफाउसर प्राइज फर डेभलप्मेन्ट कोपअपरेसन २०२० पुरस्कार जितेका हुन्। यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मूल्याङ्कनको आधारमा प्रदान गरिन्छ।

उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क (३२ लाख नेपाली) नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन्। पावेलको यो एभिएम स्कुलका खेलाडीहरूका लागि चौथोपटकको सहयोग हो। पावेलको सहयोगले एभिएमका स्कुलका खेलाडीहरूको स्तरोन्नतिमा निकै ठूलो मद्दत मिलेको प्रशिक्षक बज्राचार्यले बताएका छन्

यो रकम एभिएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो। प्राप्त रकम हलमा सुविधायुक्त चेन्जिङ्ग रुम, ट्वाइलेट, जिम हल, इन्जुरी रिकभरीका लागि फिटनेश ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाइटिङ्ग सिस्टम, फल्स सिलिङ्ग, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो। यसका लागि सम्पूर्ण डिजाइनहरू तयार भइसकेको र अर्को हप्तादेखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताएका हुन्।

यस सहयोगले एभिएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान् खेलाडी उत्पादन गर्नसमेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको विश्वास रहेको छ।

जति धेरै सुविधा खेलाडीहरूले प्राप्त गर्नेछन्, त्यति नै सफलता पाउने पावेलको भनाइ छ। भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गरी स्तर वृद्धि गर्ने र नेपालमा टेबलटेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ।

Inside Article Ads

राष्ट्रिय खेलाडीहरूले पनि नपाएको सुविधाहरू पाउने भएबाट एभिएमका खेलाडी विद्यार्थीहरू निकै नै हर्षित तथा उत्साहित छन्, जुन नेपालमा टेबलटेनिस विकासका लागि निकै ठूलो कुरा भएको प्रशिक्षक बज्राचार्यले बताए।

यसअघि पनि पावेलले एभिएमका टेबलटेनिस खेलाडीहरूका लागि सहयोग गर्दै आइरहेको प्रशिक्षक बज्राचार्यले बताए। “श्रीलङ्काको भ्रमणका क्रममा पावेलको बारेमा जानकारी प्राप्त भयो, त्यसपछि सामाजिक सञ्जालमार्फत् सम्पर्क गरी स्कुलका बच्चाहरूलाई प्रशिक्षण दिन अनुरोध गर्दा उहाँले त्यसलाई स्वीकार्दै २०१७ मा नेपाल आएको र स्कुलका खेलाडी विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरका थिए,” प्रशिक्षक बज्राचार्यले बताए।

बज्राचार्यका अनुसार प्रशिक्षणका क्रममा स्कुलका खेलाडीहरूले खाल्टाखुल्टी भएको भुइँमा साधारण प्लाइउडको टेबलमा ईट्टाको नेट बनाएर खेलेको देखेर सहयोग गर्ने इच्छा जागी स्वदेश फर्केपश्चात् १ लाख बराबरको नेट, बल र र्‍याकेटको रबर पठाइदिएका थिए। यस्तै पावेलले २०१८ मा ३ हजार डलर बराबरको ४ वटा प्रोफेसनल बोर्ड, बल र रबर प्रदान गरे। सन् २०१९ मा ३ हजार डलर बराबरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रयोग हुने म्याट प्रदान गरेको बज्राचार्यले जानकारी गराए।

पावेलले नेपाल भ्रमणका समयमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूलाई प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्। यसपटक पनि नेपालको भ्रमण गर्ने कार्यक्रम रहेकोमा विश्व महामारीका रूपमा फैलिएको कोभिड–१९ कारण उनको नेपाल भ्रमण स्थगित भएको प्रशिक्षक बज्राचार्यले बताए।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.