Fast Nepal News

रास्वपाको केन्द्रीय सदस्यमा दयाराम अधिकारीको उम्मेदवारी घोषणा

banner single news


काठमाडौं, असार १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दयाराम अधिकारीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार सार्वजनिक अपिलमार्फत अधिकारीले सुशासन, भ्रष्टाचार नियन्त्रण, संगठन सुदृढीकरण तथा आर्थिक समृद्धिका एजेन्डालाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको बताएका हुन्।

उनले राजनीतिलाई केवल सत्ता प्राप्तिको माध्यम नभई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने साधनका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। अधिकारीले विगत तीन दशकभन्दा बढी समय शिक्षण, गैरसरकारी संस्था, आयात–निर्यात, व्यापार तथा स्टक ट्रेडिङ क्षेत्रमा काम गरेको अनुभवलाई पार्टी र देशको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

आफू रास्वपाको स्थापनाकालदेखि संगठन विस्तार र वैचारिक अभियानमा सक्रिय रहेको उल्लेख गर्दै अधिकारीले प्राप्त अनुभवलाई पार्टीको नीति निर्माण, संगठन मजबुती र देशको समृद्धिको यात्रामा केन्द्रित गर्ने बताएका छन्।

उम्मेदवारी घोषणामा उनले सुशासन प्रवर्द्धन, भ्रष्टाचारविरुद्ध अभियान, वैचारिक रूपमा सुदृढ संगठन निर्माण, कृषि तथा पर्यटन क्षेत्रको विकास, युवामुखी उद्यमशीलता प्रवर्द्धन र नवप्रवर्तनमा आधारित आर्थिक रूपान्तरणलाई आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।

अधिकारीले प्रतिनिधिहरूसँग मत, विश्वास र समर्थनको अपिल गर्दै सक्षम नेतृत्व, बलियो संगठन तथा नयाँ राजनीतिक संस्कार निर्माणका लागि आफूलाई अवसर दिन आग्रह गरेका छन्।

रास्वपाले आगामी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको बेला अधिकारीको उम्मेदवारी घोषणालाई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धाको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

दयाराम अधिकारी रास्वपाको केन्द्रीय सदस्य पदका आकांक्षी उम्मेदवार हुन्। उनका अनुसार पार्टीको आर्थिक क्रान्ति, सुशासन र समृद्ध नेपालको अभियानमा आफू निरन्तर सक्रिय रहनेछन्।

Visited 2 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.