Fast Nepal News

अकर्मण्यताको गुट जोगाउन संस्थापनले पार्टीको अस्तित्व सक्ने दुस्साहस गर्‍यो: नेता जोशी

विशेष महाधिवेशन कुनै व्यक्ति वा गुटको स्वार्थका लागि नभई कांग्रेसभित्र लामो समयदेखि जमेर बसेको गिरोहतन्त्र भत्काउन गरिएको लोकतान्त्रिक विद्रोह थियो, जसको सम्मान हुनुपर्थ्यो।

banner single news

काठमाडौं । नेपाली काँग्रेसका शिर्ष नेता शिवराज जोशीले दोस्रो विशेष महाधिवेशनमार्फत नेतृत्वले व्यक्त भएको विद्रोहलाई संस्थागत रूप दिन नसक्नुले नै पार्टी विभाजन भएकोमा निवर्तमान सभापति शेरबहादुर देउवा प्रति आपत्ति जनाएका छन् ।

संस्थापन पक्षले गुट जोगाउन र पार्टी कै अस्तित्व सक्न गम्भीर अकर्मण्यता गरेकोमा आक्रोश व्यक्त गरे । नेतृत्वको असफलता, गुटवादी मानसिकता र लोकतान्त्रिक अभ्यासप्रतिको बेवास्ताकै कारण देशकै सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी आज विभाजनको संघारमा पुगेको जोशीको ठहर छ।

विशेष महाधिवेशनबाट भंग गरिएका सभापति देउबाले नैतिक जिम्मेवारी बोध गर्नुको सट्टा पार्टी विभाजन गर्ने दुस्साहस गरेको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको सन्दर्भमा नेता जोशीले निर्वाचन आयोगले समेत विशेष महाधिवेशनलाई वैधानिकता दिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, विशेष महाधिवेशन कुनै व्यक्ति वा गुटको स्वार्थका लागि नभई कांग्रेसभित्र लामो समयदेखि जमेर बसेको गिरोहतन्त्र भत्काउन गरिएको लोकतान्त्रिक विद्रोह थियो, जसको सम्मान हुनुपर्थ्यो।

“यो विद्रोह गगन थापाले मात्र होइन, जो–कोही नयाँ पुस्ताको नेतृत्वले उठाएको भए पनि स्वागतयोग्य हुन्थ्यो,” जोशीले भने, “कांग्रेस जोगाउन नयाँपन, साहस र नैतिक नेतृत्व आवश्यक थियो।” उनले देउबाका आसेपासेहरूले सही सल्लाह दिन नसक्दा आज पार्टी मात्र होइन, समग्र नेपाली लोकतान्त्रिक राजनीति नै संकटतर्फ धकेलिएको बताएका छन्।

जोशीले विगत स्मरण गर्दै भने, “म प्रतिनिधि सभाको निर्वाचनमा चार पटक टिकट पाइसकेको व्यक्ति हुँ। तर पार्टी एकताका लागि मैले स्वेच्छाले चुनाव नलड्ने निर्णय गरेँ। साथीहरूलाई अघि बढाएँ, पार्टी एक भएर चुनाव जित्यौँ। आज पनि त्यही भावनाअनुसार विधानसम्मत रूपमा विशेष महाधिवेशन बोलाएर कांग्रेसलाई नयाँ ट्र्याकमा लैजान खोजिएको थियो।” तर, हजारौँ महाधिवेशन प्रतिनिधिहरूको भावनालाई नेतृत्वले बेवास्ता गर्दै उल्टै निष्कासनको बाटो रोज्नु लोकतान्त्रिक मूल्यको अपमान भएको उनको भनाइ छ।

Inside Article Ads

उनले २०५९ सालमा पनि अल्पमतमा परेर आफ्नो पद जोगाउन देउबाले पार्टी फुटाएको इतिहास स्मरण गराउँदै भने, “उही प्रवृत्ति दोहोरियो। यसपटक पनि गुट जोगाउन पार्टी फुटाइयो। नैतिक आधारमा उहाँले विश्राम लिनुपर्ने थियो।” तर नजिकका आसेपासेहरूले यथार्थपरक सल्लाह नदिँदा पार्टी आज यो दयनीय अवस्थामा पुगेको जोशीको ठहर छ।

जोशीका अनुसार, यदि नेतृत्वले समयमै आत्मसमीक्षा गरेको भए, विशेष महाधिवेशनलाई सकारात्मक ऊर्जा मानेर सुधारको बाटो समातेको भए कांग्रेस आज धराशायी हुने थिएन। लोकतान्त्रिक पार्टीभित्र बहस, असहमति र नेतृत्व परिवर्तनलाई सहज रूपमा स्वीकार गर्ने संस्कार विकास गर्न नसक्दा पार्टीको अस्तित्व नै संकटमा परेको उनको चेतावनी छ।

“लोकतन्त्र भनेको पदमा टाँसिरहने नाम होइन, जनभावना सुन्ने र समयअनुसार नेतृत्व हस्तान्तरण गर्ने अभ्यास हो,” जोशीले जोड दिए, “यदि यसरी नै गयो भने कांग्रेस मात्र होइन, देशको लोकतान्त्रिक पद्धतिमै गम्भीर खतरा पैदा हुन्छ। तर यदि साहसका साथ सुधार गरियो, विधि र विधानलाई सम्मान गरियो भने कांग्रेस फेरि सही ट्र्याकमा फर्किन सक्छ।”

नेता जोशीले आशा गरिएका नेतृत्वबाट समेत ठोस र सकारात्मक कदम अघि नबढेकोमा दुःख व्यक्त गर्दै, अब पनि आत्मकेन्द्रित राजनीति त्यागेर लोकतान्त्रिक मूल्य, पार्टी एकता र जनताको विश्वास पुनःस्थापना गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Visited 67 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.