
सम्वाददाता
काठमाडौं, नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शिवराज जोशीले पार्टीको वर्तमान संकटको निकास विशेष महाधिवेशन नै भएको बताएका छन्।
नेता जोशीले अहिलेको अवस्थामा विशेष महाधिवेशन अपरिहार्य रहेको उल्लेख गर्दै वैधानिक व्यवस्थामा अवरोध पुर्याउने प्रयासलाई कडा शब्दमा आलोचना गरे। “अहिले कांग्रेसको निकास विशेष महाधिवेशन नै हो। वैधानिक व्यवस्थामा अवरोध गर्न खोज्नु पदलोलुपताको पराकाष्ठा हो,” उनले भने।
उनले पार्टीभित्र देखिएको असमझदारी र नेतृत्वसम्बन्धी विवाद समाधान गर्न विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए। वैधानिक बाटोलाई अवरुद्ध गर्ने प्रवृत्तिले पार्टीलाई थप कमजोर बनाउने उनको भनाइ थियो।
नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र, विधान र परम्पराको सम्मान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै जोशीले पार्टीलाई एकताबद्ध बनाउने एकमात्र उपाय विशेष महाधिवेशन भएको स्पष्ट पारे।
