
सोमबारदेखि निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक शुरू गरेको छ ।
आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगित गरेको थियो ।
आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैं मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य थालिने जनाएको छ ।
मतदाता नामावली अद्यावधिक कार्य शुरू भएसँगै नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडाभित्रको मतदान स्थललगायत विवरणमा रहेको त्रुटि सच्याउन सकिने आयोगले जनाएको छ ।
मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउनका लागि निवेदन दिन र झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।