Fast Nepal News

राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेको ठोस प्रस्ताव पर्खिँदै सत्तागठबन्धन

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एमालेलाई समेटेर लैजाने विषयमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए ।

banner single news

१९ पुष,काठमाडौँ —सत्तागठबन्धनले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेको प्रस्ताव पर्खिने भएको छ । एमालेलाई समेत समेटेर लैजानेबारे छलफल अघि बढेसँगै गठबन्धनले एमालेको प्रस्ताव हेरेर अघि बढ्ने नीति लिएको हो ।

बुधबार दिउँसो सत्तारूढ दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच बालुवाटारमा छलफल भएको थियो । बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार एमालेलाई समेटेर लैजाने विषयमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा ब्रिफिङ गरेका थिए ।‘प्रधानमन्त्रीजीसँग ओलीजीले राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस् भन्नुभएको रहेछ । पहिलो कुरा, एमालेको प्रस्ताव के हो, त्यो उताबाट क्लियर आओस् अनि कुराकानी गर्न सजिलो हुन्छ भन्ने हाम्रो कुरा भयो । एमाले पनि हामीसँगै आयो भने त्यो ‘कन्डिसनल सहमत’ हुनेछ । कस्तो प्रस्ताव आउँछ त्यसका आधारमा हामी छलफलबाट अगाडि बढ्छौँ,’ पाण्डेले भने ।

दलीय मतभारमा बलियो रहेको गठबन्धनमा एमालेले जितेका सिटमा बाँडफाँट गर्ने तयारी थियो । तर, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर जान एमालेसमेतलाई समेटेर लान आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले छलफल थालेपछि सिट बाँडफाँटमा एमालेको प्रस्ताव पर्खिने अवस्था बनेको छ । १४ पुसमा कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन गर्ने औपचारिक निर्णय लिएपछि मंगलबारबाट गठबन्धन दलमा छलफल सुरु भएको थियो । कांग्रेस मुख्य सचेतक रमेश लेखकले भने राष्ट्रिय सभा र समसामयिक विषयमा छलफल भएको गठबन्धन दलमा सिट बाँडफाँटबारे छलफल भएको बताए । ‘गठबन्धन दलबीच राष्ट्रिय सभामा कसरी जाने भन्ने छलफल भएको हो । एमालेसँग समसामयिक विषयमा छलफल भएको हो । दलहरूका बैठकमा विभिन्न कोणबाट छलफल हुने नै भयो,’ उनले भने ।

कांग्रेस र माओवादीबीच गठबन्धन दलबीच छलफल अगाडि बढाउने विषयमा मंगलबार नै छलफल भएको थियो । मंगलबारकै निर्णयअनुसार बुधबार सत्तारूढ गठबन्धन दलबीच छलफल भएको थियो ।

Inside Article Ads

गठबन्धन बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा बिहीबार नेपाल आउन लागेका भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको भ्रमणका विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले यसको तयारीबारे बैठकमा जानकारी गराएका थिए । ‘भारतसँग भएका पञ्चेश्वर, महाकालीलगायत सन्धिका विषयमा के–कसरी राष्ट्रहितअनुकूल हुने गरी प्रस्तुत हुने भन्नेबारे छलफल भयो । प्रधानमन्त्रीज्यूले तयारीबारे ब्रिफिङ गर्नुभयो,’ पाण्डेले भने । राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका आठ, कांग्रेसका चार, माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र दुई गरी २० सांसदको कार्यकाल २१ फागुनमा सकिँदै छ ।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.