Fast Nepal News

ओली-दाहाल नजिकिँदै

पछिल्लो समय ओली र दाहालबीच सम्बन्ध विस्तार गर्न भेटवार्ता जारी ।

banner single news

१९ पुष,काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तिक्तता घटाउने प्रयास भइरहेको छ । पछिल्लो समय ओली र दाहालबीच सम्बन्ध विस्तार गर्न भेटवार्ता जारी छन् । दुई नेताबीच मंगलबार एक्लाएक्लै र बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित छलफल भएको छ ।

भेटपछि राष्ट्रिय सभामा एमालेलाई समेट्न गठबन्धन सकारात्मक देखिएको छ । यसअघि राष्ट्रिय सभामा गठबन्धनबीच सिट बाँडफाँट गर्ने तयारी भइरहेका बेला एमालेलाई पनि समेट्ने भनाइ सार्वजनिक भएको थियो । राष्ट्रिय सभामा एमालेलाई समेट्ने प्रस्ताव आउनुका पछाडि ओली र दाहालको भेटवार्ताले काम गरेको नेताहरूको भनाइ छ ।मंसिर १४ मा मध्यपहाडी राजमार्गमा राजनीतिक अभियान सुरु गर्ने अघिल्लो दिन दाहाल र ओलीबीच सिंहदरबारमा अर्थपूर्ण कुराकानी भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले ‘विभिन्न शक्तिको चलखेल भइरहेका बेला वामपन्थीबीच सहकार्य जरुरी रहेको’ बताएका थिए । प्रत्युत्तरमा ओलीको जवाफ थियो, ‘वामपन्थी सहकार्य गर्ने नै हो भने राष्ट्रिय सभा निर्वाचनबाट सुरु गरौं ।’ त्यसयता दाहालको ७१ औं जन्मदिनका अवसरमा ओलीले फोन गरेका थिए ।

ओलीले संघीयता र गणतन्त्र ल्याउन भूमिका खेलेका दलहरूको औचित्य झन् बढेर गएको बताउँदै आएका छन् । उनको अभिव्यक्तिले पुराना दलबीच कहीं न कहीं सहकार्य हुनुपर्ने अर्थ दिएको छ । ओली र दाहालले शान्ति प्रक्रियासम्बन्धी विधेयकमा सहमति जुटाउने आधार खोजिरहेको माओवादीका एक पदाधिकारीले बताए । ‘तत्काल शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न कानुन बनाउने हो,’ उनले भने, ‘दीर्घकालीन रूपमा सहकार्यका लागि आधार बनाउन दुई नेताबीच संवाद जारी छ ।’

Inside Article Ads

मन्त्रिपरिषद् हेरफेरमा भने दाहाल र देउवाबीच मतभेद छ । आफ्नो सरकारले सोचेअनुसार काम गर्न नसकेकामा दाहाल नै असन्तुष्ट छन् । कांग्रेस मन्त्रीका कारण आफ्नो सरकारको कार्यसम्पादन फितलो हुने अवस्था आए दाहाल अर्को गठबन्धनका लागि विकल्प तयार गर्न चाहन्छन् । त्यसका लागि उनले ओलीसँग दूरी घटाउँदै लगेका छन् ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 35 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.