Fast Nepal News

राजनीतिक संरक्षणमा भ्रष्टाचार संस्थागत बन्दै गएको छ : नेता कोइराला

banner single news

१ पुष,विराटनगर — कांग्रेस नेता डा शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएर संस्थागत बन्दै गएको बताएका छन् ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले शनिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा कोइरालाले राजनीतिक संरक्षणबिना मुलुकमा ठूला भ्रष्टाचार हुनै नसक्ने दाबी गर्दै भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेको बताए । ‘सुन काण्डको छानबिन कहाँ पुग्यो ? ललिता निवासको छानबिन के हुँदैछ ? अहिले एनसेल काण्ड आएको छ । भ्रष्टाचार काण्डका विषयमा गठन हुने कुनै पनि छानबिन समितिको प्रतिवेदन बाहिर आउँदैन,’ नेता कोइरालाले भने, ‘यी सबै काण्ड राजनीतिक संरक्षणमै भएका छन् ।’
Inside Article Ads

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा देशको नाम बदनाम भएको उनको जिकिर थियो । राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको सेटिङमा एनसेल काण्ड भएको उनको दाबी थियो ।

कोइरालाले जतिसुकै ठूला भ्रष्टाचारका मुद्दा बाहिर आए पनि राजनीतिक नेतृत्वले भने उन्मुक्ति पाउने गरेको बताए । ‘अन्य काण्डजस्तै आठ–दश दिनमा एनसेलको पनि रिपोर्ट आउला तर त्यसले राजनीतिक नेतृत्वलाई छुँदैन,’ उनले भने, ‘त्यसले व्यापारीलाई छोला अनि अलिअलि कर्मचारीलाई छोला तर राजनीतिक नेतृत्वलाई छुँदैन ।’

राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश अगाडि बढेको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । कोइरालाले वर्तमान नेतृत्ववाट देश नबने दाबी गर्दै जतिसक्दो चाँडो गठबन्धन सरकारको नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कोइरालाले साहित्यकार भागिरथी श्रेष्ठ साहित्य पुरस्कार र पत्रकार धमेन्द्र झालाई पत्रकारिता पुरस्कारले सम्मान गरेका थिए । श्रेष्ठलाई ५१ हजार र झालाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै वरिष्ठ साहित्यकार दधिराज सुवेदीको उपचारमा संलग्न भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलाई समेत सम्मान गरिएको थियो ।

पत्रकार शरदराज सुवेदी र रुपक सुवेदीले पिता दधिराज सुवेदीको नाममा १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरी प्रतिष्ठान स्थापना गरेर २०७३ सालदेखि यी दुई पुरस्कार वितरण गर्दै आएका छन् ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

 

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.