
२३ श्रावण,काठमाडौं- विवादित छवि भएका माओवादी केन्द्रीय सदस्य ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि माओवादीभित्र प्रश्न उठेको छ । विवादित लामालाई सरकारले नियुक्त गरी भ्रष्टाचारविरुद्ध अभियानलाई खिल्ली उडाएको नेताहरूले बताएका छन् ।
पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गर्नुअघि लामालाई नियुक्त गरी अर्को विवादास्पद काम गरेको नेताहरूको भनाइ छ । ‘उहाँ (लामा) विगतमा सांसद, माओवादीको केन्द्रीय सदस्य भइसकेको हुनाले धेरै रहस्यको विषयचाहिँ होइन,’ नेता लेखनाथ न्यौपानेले भने, ‘स्वच्छ छवि भएका व्यक्ति नियुक्त नगरी विवादित व्यक्ति खोज्नुचाहिँ प्रश्न हो ।’ कानुनी झमेला हुनु/नहुनु अर्कै विषय हो,’ उनले भने, ‘यसले पार्टी शुद्धीकरणमै गम्भीर प्रश्नचाहिँ उठाउनेछ ।’
अर्का केन्द्रीय सदस्य सरल सहयात्री पौडेलले केन्द्रीय सदस्य भइसकेको व्यक्तिलाई माओवादीले सम्हालेको मन्त्रालयले नियुक्त गर्नु अस्वाभाविक नभए पनि प्रश्न भने उठेको बताए । ‘अरू पार्टी र स्वतन्त्र नागरिकले विवादरहित व्यक्ति नियुक्त गरेको भए उचित हुने विचार व्यक्त गर्नु अन्यथा होइन,’ उनले भने, ‘मन्त्रिपरिषद्ले नियुक्त गरेकाले सरकार नै यसको जवाफदेही हुने हो ।’
लामा शनिबार सकिएको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । ०६९ देखि माओवादीको सम्पर्कमा आएका लामाले त्यस बेलादेखि अध्यक्ष पुष्पकमल दाहाललगायत वरिष्ठ नेताहरूसँग नजिकको सम्बन्ध राख्दै आएका थिए । ०७० को संविधानसभा निर्वाचनमा उनलाई माओवादीले समानुपातिक सभासद बनाएको थियो ।
माओवादी ‘हेडक्वार्टर’ निकट रहेर उनले पार्टीलाई सहयोग गर्दै आएको बताए । ०६९ मा माओवादीको केन्द्रीय सदस्य भएका उनी ०७५ मा एमालेसँग एकता भई बनेको नेकपामा भने परेनन् । नेकपा विभाजनपछि ०७८ पुसमा भएको माओवादीको महाधिवेशनमा पुनः केन्द्रीय सदस्यमा मनोनयन भए । एक केन्द्रीय सदस्यका अनुसार दाहालसमक्ष उनको सिधै पहुँच र प्रभाव छ । जसका कारण उनी जतिसुकै विवादित भए पनि प्रभावमा रहिरहन्छन् । ‘लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति हुनुको मुख्य कारण यही हो,’ ती सदस्यले भने ।
समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।
