
४ असार,काठमाडौँ — संघीय संसद्को शक्ति सन्तुलनमै फेरबदल हुने गरी सत्तारूढ तीन दल र निर्वाचन बहिष्कार गरेको एक पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । गत मंसिरको निर्वाचनपूर्व नै घोषणा गर्ने भनिएको मोर्चा सोमबार गठन हुन लागेको हो ।
लामो छलफलपछि नीतिगत प्रतिबद्धतासहित माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाले मोर्चा गठन गर्दै छन् । सुरुदेखि अग्रसरता लिए पनि डा. बाबुराम भट्टराई र वामदेव गौतम भने मोर्चा घोषणाको निर्णायक चरणमा बाहिरिएका छन् । मोर्चामा सहभागी हुन लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भने संसद्मा छैन ।
सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा मोर्चा घोषणा कार्यक्रम राखिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । भविष्यमा पार्टी एकतासम्मको लक्ष्य राखेर घोषणा गर्न थालिएको मोर्चाको १५ बुँदे प्रतिबद्धतापत्र तयार भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको मुख्य उद्देश्य छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित मोर्चा संसद्को निर्णायक शक्ति बन्नेछ । यस्तोमा मोर्चाविना कांग्रेस र एमाले
मिल्नेबाहेक अन्य विकल्पमा सरकार गठन हुन सक्दैन । प्रतिनिधिसभामा कांग्रेसका ८८ (एक निलम्बन), एमालेका ७९ (दुई निलम्बन), माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार, जनमोर्चा र नेमकिपा एक–एक र तीनजना स्वतन्त्र सांसद छन् ।
संसदीय अंकगणितका आधारमा मोर्चाले हालको सत्तागठबन्धन निर्माण हुँदा भएको सहमति कार्यान्वयनमा जोड दिनेछ । सहमति कार्यान्वयनमा नजर राख्ने र आवश्यक परे कांग्रेसमाथि दबाब बनाउने मोर्चाको रणनीति छ । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सरकारको नेतृत्वको विषयमा सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले दुई, एकीकृत समाजवादीले एक र कांग्रेसले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति छ ।
मोर्चाको संयोजनका लागि केन्द्रमा चारै दलका प्रमुखसहित पार्टीका शीर्ष नेता सम्मिलित संयोजन समिति रहनेछ । तर, संयोजन समिति कति सदस्यीय रहने भन्ने विषय टुंगिसकेको छैन । ‘संयोजन समितिमा पार्टी प्रमुखसहित दलहरूबाट चार–पाँचजना सदस्य रहने भन्ने छ । दलहरूले नाम पठाएपछि संयोजन समितिले पूर्णता पाउँछ । कति सदस्यीय भन्ने टुंगिन बाँकी छ,’ माओवादी महासचिव गुरुङले भने ।
मोर्चाको नेतृत्व पार्टी प्रमुखहरूले आलोपालो प्रणालीअनुसार गर्नेछन् । ‘नेतृत्व आलोपालो हुन्छ । सहमतिमा निर्णय प्रक्रियामा जाने, घटक दलहरूबीचमा मोर्चाको कार्यक्रममा जाँदा मोर्चाकै रूपमा जाने, मोर्चाभन्दा बाहिर आ–आफ्नो दलले कार्यक्रम गर्दा स्वतन्त्रतापूर्वक विचार राख्न पाउने समझदारी छ,’ जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने, ‘विस्तृत विषय कार्यविधि र आचारसंहितामा आउँछ । राजनीतिक रूपमा नीति तथा कार्यक्रम पछि बनाउँछौँ । संगठनात्मक रूपमा कार्यविधि र आचारसंहिता पनि पछि नै बनाउने भन्ने छ ।’
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलगायतका नेता संयोजन समितिमा रहनेछन् । सचिवालय भने चार सदस्यीय बन्ने भएको छ । प्रत्येक पार्टीबाट एक–एकजना सदस्य सचिवालयमा रहनेछन् । हाललाई केन्द्रमा मात्रै संयन्त्र रहनेछ भने कार्यविधि बनाएर प्रदेश र स्थानीय तहसम्म संयन्त्र गठन गर्ने तयारी छ ।
नीतिगत प्रतिबद्धता जनाएर सोमबार समाजवादी मोर्चाको घोषणा गरिनेछ भने भविष्यमा नीति–कार्यक्रम बनाएर आउने नेताहरूले बताएका छन् । समाजवादको लक्ष्य प्राप्त गर्ने मोर्चाको मुख्य उद्देश्य छ । ‘मोर्चाको मुख्य उद्देश्य समाजवादउन्मुख कार्यदिशा बोकेका पार्टीहरू एकताबद्ध हुँदै समाजवादको लक्ष्य प्राप्त गर्ने हो । हालसम्म प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानअनुसार अगाडि बढ्ने, राष्ट्रिय हितको संरक्षण गर्ने, देशमा विद्यमान आर्थिक–सामाजिक समस्या समाधान गर्ने र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समृद्धिमा जाने लक्ष्य लिएका छौँ,’ एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने ।
लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, समृद्धि र समतामूलक समाज निर्माण गर्ने लक्ष्य राखिएको जसपा वरिष्ठ नेता श्रेष्ठले बताए । ‘संघीय शासन प्रणालीमा आधारित समाजवादमा जाने भन्ने अभिप्राय राखेर हामीले समाजवादको नेपाली बाटो अवलम्बन गर्ने भनेका छौँ । हामीले आफ्नो मौलिक बाटो बनाएर अगाडि बढाउनुपर्छ । यसको मुख्य मान्यता भनेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, लोकतन्त्र, संविधानको रक्षा, विकास र परिमार्जन, आर्थिक, सामाजिक रूपान्तरण पर्छन् । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रहरूलाई विकास गर्दै जाने र देशलाई सम्पन्नतातर्फ लाने मार्गचित्र स्पष्ट परेका छौँ,’ उनले भने ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले देशको समस्या समाधान गर्न समाजवादी मोर्चा आवश्यक भएको बताए । साझा सोच र प्रयासको रूपमा अगाडि बढ्न लागेको उनले बताए । वस्तुस्थिति, जिम्मेवारीबोध र चेतनाको उपजको प्राथमिक अभ्यासको रूपमा समाजवादी मोर्चा बनेको र मोर्चामा इमानदार कम्युनिस्ट, देशभक्त र प्रगतिशील लोकतान्त्रिक शक्ति आबद्ध हुने उनले बताए ।
‘विगतका आ–आफ्ना अभ्यास छन् । संसद्वादीहरूको एउटा अभ्यास छ, हाम्रो अर्को अभ्यास छ । देशको स्थिति संकटग्रस्त छ । देश र जनताको जीवनमा संकट आइपर्यो,’ उनले भने, ‘देशमा कसैले पनि भविष्य नदेख्ने स्थितिले विगतको पुनः समीक्षा गर्नुपर्ने आवश्यकता भएको हो । देश र जनताको आवश्यकता पूरा गर्ने सवालमा हामी समाजवादी मोर्चामा आबद्ध भएका हौँ ।’
हाललाई मोर्चा मात्रै
पार्टी एकताको विषय उठे पनि हाललाई भने मोर्चा मात्रै बन्ने भएको छ । दीर्घकालीन रूपमा भने पार्टी एकताकै लक्ष्य लिइएको छ । वर्तमान सरकारलाई अगाडि बढाउने र भविष्यमा एकाकार भएर जाने आधार निर्माण गर्ने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । ‘पार्टी एकता विषय विविध रूपमा उठिरहेकै छ । एउटै चुनाव चिह्नमा निर्वाचन लड्नुपर्छ भन्ने पनि छ । यी सबै भविष्यको गर्भमा छन्,’ उनले भने, ‘अहिले हामी त्यता पुगेका छैनौँ । खालि वर्तमान सरकारलाई अगाडि बढाउने र भविष्यमा एकाकार भएर जाने आधार निर्माण गर्दै अघि भन्ने हो ।’
अन्य दललाई पछि समेट्ने
सिद्धान्त, विचार र मुद्दा मिल्ने दलहरूलाई मोर्चामा आबद्ध गराउँदै जाने नीति चार दलले अख्तियार गरेका छन् । सहमतिअनुसार मोर्चामा दलहरूलाई थप गर्दै लैजाने समझदारी चार दलबीच भएको छ । ‘विचार र सिद्धान्तमा सहमत हुने दलहरूलाई एकताबद्ध गराउँदै जाने हो । समाजवादको दिशामा जान चाहने सबै शक्तिलाई मिलाएर लानुपर्छ । त्यसमा सहमत हुने शक्तिलाई समेट्दै जान्छौँ,’ एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने ।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।
