
Tharuwan Morcha Apeal३२ साउन, काठमाडौं । थारुवान राष्ट्रिय मोर्चाले सोमबार विज्ञप्ति जारी गर्दै २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गरेको हो । थरुहट मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाले टीकापुर विद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहमतिबाट निरुपण गरिनुपर्ने माग गरेको छ । टीकापुर घटनालाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने मोर्चाको माग छ । सबै जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनाको आडमा थारु जनविद्रोहलाई मात्र त्यसबाट अलग राख्न र आपराधिक करार गर्न नमिल्ने मोर्चाको ठहर छ ।
मोर्चाको केन्द्रीय संयोजन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘….किनकि टीकापुर जनविद्रोह केवल टीकापुरको वा थारुहरुको मात्र विद्रोह होइन । सबै किसिमको शोषण, उत्पीडित र समानताको माग यस घटनासँग अन्योन्याश्रित तवरमा जोडिएको छ ।
थारु विद्रोहका क्रममा पक्राउ परेका बन्दीको रिहाइ लगायतका माग गर्दै मोर्चाले मंगलबारदेखि तीन दिन काठमाडौंको माइतीघरमा ‘थारु प्रदर्शन’ गर्ने पनि विज्ञप्तिमार्फत जनाएको छ ।
६ वर्षअघि टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी दुई वर्षका बालक टेकेन्द्र साउद साथै जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
