
सहिदको बलिदानको महत्वपूर्ण उपलब्धि हो प्रजातन्त्र। लामो समयदेखी मुलुकमा लागू भएको राणा शासनको अन्त्य गर्न र प्रजातन्त्रको स्थापना गर्न नेपालका सहिदहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। नेपाल प्रजा परिषद पार्टीको स्थापना गरी प्रजातान्त्रिक आन्दोलनको विगुल फुकेर स्वतन्त्रता र समानताका पक्षमा नेपालका अमर सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दले ज्यानको समेत प्रवाह नगरी आफ्नो रगतको मूल्य चुकाएर प्रजातन्त्रको जग स्थापित गर्न जनताको हक अधिकार सुनिश्चित गर्न आफ्नो शरीर राष्ट्रका लागि अर्पण गरी ठूलो योगदान पुर्याएका छन्। यसो विचार गर्ने हो भने सहिदहरूको रगतले किनिएको अनमोल प्रजातन्त्र भन्दा यसमा बढी तर्क गरिराख्नुपर्ने आवश्यक भने देखिँदैन। नेपालका अमर सहिदहरुले समानता र स्वतन्त्रताका लागि प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्ने महान विचारले प्रजातन्त्रको स्थापना गर्न र जहाँनिया राणाशासनको अन्त्य भई जनताको शासन मुलुकमा स्थापित हुन सफल भएको कारण सहिदहरूको योगदानलाई हामीले कहिले भुल्नुहुँदैन। सहिदहरुले गरेको ती महत्वपूर्ण योगदानले आज मुलुकमा जनताको चेतनास्तरमा व्यापक परिवर्तन आएको छ। नेपाली जनताहरु समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्दै छ राज्यका हरेक क्षेत्रमा सहभागी भई राष्ट्र विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ। नेपालका महान सहिदहरूले अमूल्य योगदान नदिएको भए के हामी स्वतन्त्रता र समानताका पक्षपाती हुन् सम्भव हुन्थ्यो र? यही गहन पश्नलाई आत्म समीक्षा गर्दै सहिदहरूले दोर्याएको असल मार्गमा हिड्न अति नै आवश्यक छ। वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने मुलुकमा व्यापक हत्याहिंसा,भ्रष्टाचार, राजनीतिक खिचातानीको अवस्था रहँदा र नेपाली जनताहरूले स्वतन्त्रताको महसुस गर्न सकिरहेको छैन। प्रत्येक वर्ष नेपालका महान सहिदहरुको शालिकमा फूलमाला अर्पण गरेर सहिदको सम्मान गरिरहँदा सहिदले डोर्याएको असल मार्गमा हिँड्न नसक्दा मुलुकमा सहिदहरुको साँचो रुपमा सम्मान हुन सकेको छैन। सहिदहरूले गरेको योगदानको सच्चा कदर भएमा मात्र सहिद दिवस मनाउनुको अर्थ सार्थक हुन्छ।महान सहिदहरुको स्मरण। प्रजातन्त्रको स्थापना गर्न ज्यानको आहुति दिने नेपालका महान सहिदहरु शुक्रराज शास्त्री,धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दको योगदानले निरंकुश तन्त्र विरुद्ध चालेको कदमले मुलुकमा स्वतन्त्रता समानता र न्याय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालका महान सहिदहरुले जहाँनिया शासनका विरुद्धमा आवाज उठाई प्रजातन्त्रको बिगुल फुकी जन जागरण अभियानलाई सार्थक बनाएका छन्। जसको परिणामस्वरूप मुलुकमा प्रजातन्त्रको स्थापना निरंकुश तन्त्रको अन्त्य हुन सफल भएको छ। प्रजातन्त्रको उदयसँगै जनताद्वारा निर्वाचित सरकारले जनताको हकहितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसको प्रमुख श्रेय नेपालका महान सहिदरुको महत्वपूर्ण योगदान हो। प्रत्येक वर्ष सहिद दिवसको अवसरमा नेपाल सरकारले सहिदहरूको शालिकमा माल्यार्पण गर्दै सहिदहरुको स्मरण गर्दछन्। तर विडम्बना के छ भने सहिदहरुले दौर्याएको मार्गमा हिँड्न नसक्नुले मुलुकमा व्यापक भ्रष्टाचार राजनीतिक खिचातानीको अवस्था श्रृजना भएको छ। यसबाट के प्रष्ट हुन्छ भने नेपालका महान सहिदहरूले डोर्याएको मार्गमा मुलुक अगाडि बढ्न नसक्दा नेपालका महान सहिदहरुप्रतिको सम्मान माल्यार्पण मात्र सिमित भएको देखिन्छ। त्यसैले सहिदहरुले डोर्याएको असल मार्गमा अघि बढेमा नेपालका महान सहिदहरुप्रति सच्चा सम्मान हुन्छ भन्ने विषयतर्फ सबैको ध्यान जान आवश्यक छ।
