काठमाडौं, भदौ १२ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।
त्यस्तै कोभिड उपचारमा समन्वय गर्ने सिलसिलामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, नर्सिग संघ लगायतको बैठक बसेर केही स्वास्थ्यसम्बन्धी निर्णय गरेको जनाएको छ । त्यस्तै शुक्रबार थप तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् ।
सूचीकृत हुने अस्पतालमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौँको कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा सूचीकृत भएका हुन् ।
हाल बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए ।