Fast Nepal News

सहज फाउन्डेसन, रोटरी क्लब डिल्लीबजार र सहज फाउन्डेसन को सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, जीविकोपार्जन तथा महिला सशक्तीकरणका कार्यक्रम विस्तार

banner single news

बारा। रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौं र सहज फाउन्डेसन, मैतीदेवी काठमाडौं को संयुक्त पहलमा बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ५ ककडी र वडा नं. ३ जुअवामा संयुक्त रूपमा रोटरी सामुदायिक समूह (आरसीसी) स्थापना गरिएको छ।
स्थानीय रूपान्तरणको पहल अन्तर्गत आधारभूत स्वास्थ्य, आधारभूत शिक्षा, कृषि, जीविकोपार्जन तथा महिला सशक्तीकरणका कार्यक्रममार्फत समुदायको समग्र विकास गर्ने उद्देश्यले उक्त समूह स्थापना गरिएको हो।
यस पहलअन्तर्गत स्थानीय समुदायको नेतृत्व, सहभागिता र स्वामित्वमा आधारित एकीकृत सामुदायिक विकासको अवधारणालाई अघि बढाइएको छ। रोटरी क्लब डिल्लीबजार, सहज फाउन्डेसन र सुरेन्द्र ढकाल फाउन्डेसनका प्रतिनिधिहरूले ककडी र जुअवाका स्थानीय अगुवा, महिला समूह, शिक्षक तथा समुदायका सदस्यहरूसँग छलफल गरी एकीकृत सामुदायिक विकासका प्राथमिकता पहिचान गरेका छन्।
शिक्षामा विशेष जोड दिँदै सहज फाउन्डेसनले सञ्चालनमा सहयोग पुर्‍याइरहेका दुई सामुदायिक ट्युसन केन्द्रमा श्री राष्ट्रिय प्राथमिक विद्यालय ककडीका ७० विद्यार्थीले अतिरिक्त अध्ययन गरिरहेका छन्। यसै क्रममा विद्यालयका २४० विद्यार्थीलाई कापी तथा शैक्षिक सामग्री वितरण गरिएको छ। फाउन्डेसनले विद्यालयको खानेपानी प्रणाली र मुख्य प्रवेशद्वार मर्मतमा समेत सहयोग गरिरहेको छ।
महिला आर्थिक सशक्तीकरणका लागि सञ्चालित स्व–रोजगार शिक्षा कार्यक्रमअन्तर्गत महिलाहरूलाई सीप विकास, उद्यमशीलता तथा आयआर्जनका अवसरसँग जोड्ने प्रयास भइरहेको छ। यस कार्यक्रमलाई सहयोग पुर्‍याउन सुरेन्द्र ढकाल फाउन्डेसनले स्थानीय महिलाहरूलाई स्वरोजगारका लागि प्रदान गरेको आर्थिक सहयोगप्रति सहज फाउन्डेसनले आभार व्यक्त गरेको छ। साथै, बाल विकास समाज, काठमाडौंले प्रदान गरेको प्राविधिक सहयोगको पनि सराहना गरेको छ। आगामी दिनमा जुअवामा समेत महिला स्व–रोजगार शिक्षा कार्यक्रम विस्तार गर्ने योजना रहेको छ।
कृषि तथा जीविकोपार्जन प्रवर्द्धनअन्तर्गत १०० किसानलाई छ प्रकारका तरकारीका बीउ वितरण गर्ने कार्यक्रम अघि सारिएको छ। त्यसैगरी तिलगंगा आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा विद्यालय तथा समुदायस्तरीय आँखा परीक्षण, आवश्यक चस्मा वितरण र मोतियाबिन्दुको शल्यक्रिया सेवामा पहुँच विस्तार गर्ने योजना रहेको छ।
रोटरी क्लब डिल्लीबजार र सहज फाउन्डेसन ले स्थानीय सरकार, सामुदायिक समूह तथा विकास साझेदारहरूसँगको सहकार्यमा आरसीसीलाई दिगो सामुदायिक विकासको आधारका रूपमा अघि बढाउने लक्ष्य राखेका छन्।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.