
काठमाडौं, मंसिर २ – विश्वभरलाई ठप्प प्रायः बनाएको तथा गम्भीर जनस्वास्थ्य संकट उत्पन्न गराएको कोरोना भाइरसविरुद्धको खोपको विकासमा वैज्ञानिकहरुको प्रयास सार्थक बन्ने क्रममा देखिएको छ।
दुई खोपहरुको बिस्तारित परीक्षणमा प्रभावकारिता राम्रो देखिएपछि चाँडै अर्थात यो वर्ष (२०२०) को अन्त्य वा आउँदो वर्षको सुरुमा खोप उलब्ध हुने अपेक्षा वास्तविकतामा आधारित जस्तो लाग्न थालेको छ।
फाइजर र मोदेर्नाले विकास गरेका खोपको प्रभावकारिता क्रमशः ९० प्रतिशत र ९४.५ प्रतिशत देखिएको छ। दुवै खोप अन्तिम चरणको परीक्षणको बिस्तारित विश्लेषणात्मक प्रतिवेदनपछि स्वीकृतिको प्रक्रियामा जाने तयारीमा छन्।
वर्ष दिन पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वका पाँच करोड ४९ लाख ८८ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन्। कोभिड–१९ ले विश्वभर हालसम्म १३ लाख २६ हजार भन्दा धेरैको ज्यान लिएको छ।