Fast Nepal News

अनि देखियो डल्फिन…

banner single news

चितवन — २९  पुस २०७८

चितवन , टेक महतो ‘सोस’ को चर्चा सुन्दै हुर्केका हुन् । उनका बाबुबाजेले पहिला गाउँनजिक अमलटारीतिरै सोस देखिने सुनाउँथे । नदीमा बस्ने, माछा जस्तो तरआकारप्रकारमा बेग्लै जीव डल्फिनलाई थारू समुदायले सोस भन्छन् । बाबुबाजेको मुखबाट सुने पनि २४ वर्षीय महतोले सोस अर्थात् डल्फिन देख्न एक पटकमात्र टाढाबाट देखेका थिए । उनी नवलपुरको कावासोती–१५ गोगराको थारू कम्युनिटी लजमा कार्यरत छन् । प्रकृतिप्रेमी महतो योपटक जलपक्षी गणनाको टोलीमा सामेल भए । आशिष गुरुङ नेतृत्वको ११ सदस्यीय टोलीमा मिसिएर उनी नवलपुरको अमलटारीदेखि त्रिवेणीघाटसम्म चरा गन्न निस्किए । पुस २२ को बिहान १० बजे उनीहरूको टोली नारायणीमा डुंगा चढेर पश्चिम लाग्यो ।

तीन वर्षअघि सन् २०१८ मा पनि उनी होटलको कामले यही रुटमा डुंगा चढेर हिँडेका थिए । नारायणी नदीको बगबन पुग्दै गर्दा उनले कहिल्यै नदेखेको जीव पानीमा रमाएर खेल्दै गरेको भेटे । उनले धमाधम तस्बिर खिचे । बाबुबाजेले भन्ने गरेको सोस त्यही थियो । कुनै बेला प्रशस्तै देखिने सोस लगभग हराइसकेका बेला आँखाअगाडि देख्न पाउनु उनका लागि निकै खुसीको कुरा थियो । योपटक चरा गणनामा जाँदा उनलाई फेरि डल्फिन भेटिने आशा जीवितै थियो । अमलटारीबाट जति पश्चिम लाग्यो उति सुनसान ठाउँ आउँछ । नारायणीको गति कम हुन्छ । घना जंगलमा चराचुरुंगीको आवाज मात्र सुनिन्छ । तीन वर्षअघि बगबनमा उनले सोस देखेका थिए । यसपालि ३ बजे कटेपछि उनीहरूको टोली त्यहाँ पुग्यो । उनले डल्फिनको तस्बिर खिच्न तयार भएर नदीतर्फ नजर लगाए ।
यताउति नजर लगाउँदा पनि सोस भेटिने संकेत देखेनन् । अघिल्लो पटक देखेको ठाउँ पार भएर डुंगा अगाडि बढ्यो । डुंगामा अमलटारीबाट त्रिवेणी पुग्न झन्डै ७ घण्टा लाग्छ । त्यसैले धेरै अलमल गरे रात पर्छ । झन्डै सय मिटर पछाडि केही हलचल देखिँदा टेकका आँखा चनाखो भए । उनले डुंगाको रफ्तार कम गर्न लगाए । यति नै बेला नदीमा खेल्दै गरेको डल्फिन देखियो । डल्फिन उनीहरू भएको डुंगातर्फ नै आउँदै थियो । लगभग २० मिटर दूरी नजिक डल्फिन आएपछि उनले तस्बिर खिचे । ‘नदेखिने भयो भन्ने लागेको थियो । देखियो त । म त निकै खुसी भएँ,’ उनले भने ।
हराउँदै गएको दुर्लभ जलचर

नारायणी नदीमा झन्डै ५ घण्टा लगातार यात्रा गर्दा महतोले धन्न एउटा डल्फिन देखे । तर पहिला यस्तो अवस्था थिएन । चितवन राष्ट्रिय निकुञ्ज २०३० सालमा स्थापना भएको हो । स्थापनाकालमै कार्यरत थिए रामप्रित यादव । जोपछि निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर अवकाश पाइसकेका छन् । उनी सम्झन्छन्, ‘किन नारायणीमा मात्रै मैले यही कसरा आडमा राप्ती नदीमै डल्फिन देखेको छु नि ।’ २०३२ सालतिर यादव कसराघाटबाट राप्ती नदीमा डुंगा चडेर पूर्व घटगाइँतिर जाँदै थिए ।

उनको डुंगा पछाडि हलचल देखियो । उनले एक्कासि माछाभन्दा धेरै ठूला जीव देखे । त्यो डल्फिन भएको मेसो पाउन उनलाई गाह्रो थिएन । तत्कालै डल्फिन डुंगाको अगाडि लाग्यो । पानीबाट निस्कँदै, पौडिँदै डल्फिन अगाडि बढ्यो । त्यो दृश्य सम्झँदा यादव अहिले पनि निकै रमाउँछन् । तर यस्ता दृश्यहरू दोहोरिन पाएनन् । चितवन निकुञ्जमा लामो समय बिताएका यादवले राप्तीमा डल्फिन देखेको त्यत्ति मात्रै हो । ‘तर नारायणीमा त थियो नि,’ यादवले भने । महतोका बाबुबाजेले भने जस्तै यादवले अमलटारीमा सात/आठवटा डल्फिन देखेका थिए । त्योभन्दा तल भेलौंजी, बगबनमा पनि राम्रै थिए डल्फिन । तर ४० को दशकपछि डल्फिन हराउँदै गएको यादव सुनाउँछन् ।

Inside Article Ads

देखिनै छाडेको थियो डल्फिन

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा लामो समय काम गरेर हालै मात्र अवकाश पाएका छन्, वेद खड्काले । उनी घडियाल हेर्दै र त्यसका अण्डा संकलन गर्दै राप्ती र नारायणी लगातार घुमेका छन् । सहायक संरक्षण अधिकृत रहेका खड्काले यादवले जति डल्फिन देख्न पाएनन् । ‘यता माथि त देखिँदै देखिएन । उता नारायणी नदीमा निकै तल गएपछि भेलौंजी, बगबनतिर कहिलेकाहीं देखियो । त्यही एउटा हो । कहिलेकाहीं दुईवटासम्म देखिएको छ,’ खड्काले भने । उनले नदी डुल्दै गर्दा ०६६ सालमा लगातारजसो डल्फिन देखे । तर ०६७ अनि ०६८ र ०६९ सालमा त्यतातिर डुंगा चढेर जाँदा कुरेरै बसे तर डल्फिन देखिएन । उनलाई नारायणीमा डल्फिन लोप भयो कि भन्ने लाग्न थाल्यो । तर ०७० सालपछि फेरि लगातारजसो देखिएको छ । ‘अस्ति मंसिरको मसान्तमा म राप्तीको लोथरदेखि नारायणीमा त्रिवेणीसम्म पुगेको थिए । त्यो बेलामा पनि देखेको हो । त्यही एउटा देखेको थिएँ,’ खड्काले भने । खड्काले देखेकै डल्फिन टेकले पनि देखेका हुन् । तर यादव र महतोका अग्रजले देखे जस्तो डल्फिन अब कहाँ देखिनु । बरु भएकै यी एकाध डल्फिन पनि कतै सधैं हराउने पो हो कि भन्ने डर छ ।

डल्फिन पानीमा बस्ने तर अण्डा हैन बच्चा नै जन्माउने स्तनधारी जीव हो । त्यसैले यो मानवसँग निकै निकट छ भन्छन् यादव । आकारमा माछाभन्दा ठूलो भए पनि डल्फिनले मान्छेलाई कुनै हानि गर्दैन । तर मान्छेले यो जीवलाई माया गरेन भन्ने दुःख यादवलाई छ । ‘नारायणीमा डल्फिन कम हुनुको एउटा ठूलो कारण त्रिवेणीको बाँध हो,’ उनले सुनाए । नहरका लागि त्रिवेणीमा बाँध लगाएर भारतले अत्यधिक र नेपालले कही मात्रामा पानी लगेको छ । बाँधको ढोका बर्खामा खुल्छ, हिउँदमा बन्द हुन्छ । ‘बर्खामा बगेर तल भारततिर लागेका डल्फिनहरू फर्केर यता आउने कुनै संरचना छैन,’ यादव भन्छन्, ‘नदीको बहावमै मान्छेले बाधा गरेकाले डल्फिनका साथै नेपालका धेरै खाले माछा र घडियाललाई असर परेको छ ।’ नदी प्रदूषण र आहाराको कमीले पनि जलचरलाई संकट थपिएको छ । नारायणी नदीलगायत यसका सहायक नदी र खोलाहरूमा सिधै फोहर फाल्ने स्थानीय तह र कारखानाका कारण प्रदूषण बढेको छ । ‘प्रदूषित नदीमा डल्फिनले खाने माछा हुर्कन र लेउ बन्न सक्दैन । खाना नै नभएपछि कसरी बाँच्छ डल्फिन ?’ यादव भन्छन्, ‘डल्फिन देखिनु भनेको वातावरण राम्रो छ भन्ने संकेत हो । वातावरण राम्रो हुनु भनेको मान्छेका लागि नै फाइदाको कुरा हो नि, हामीले यो कुरा बुझ्नुपर्छ ।’

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.