Fast Nepal News

प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधानको बलात्कार गरे : प्रचण्ड

banner single news

काठमाडौं, पुस १४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे ।

संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे ।

Inside Article Ads

अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन् । उनले त्यसका बाबजुद ओलीले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेर आफूसँग भनेका कारण त्यही कुरालाई विश्वास गरेर पार्टी एकतामा लागेको पनि प्रस्ट पारे ।

प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए । ७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको उनले स्मरण गराए । उनले नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको बताए ।

‘ओली संघीयता विरोधी, धर्मनिरपेक्षताविरोधी हो भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘उहाँको मनले मानेको थिएन, तर जनताको आँधीहुरी आएपछि त्यसैमा बगिदिएँ भनेर उहाँले भन्नुहुन्थ्यो ।’

वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएका भए पनि तीन वर्ष पुग्दा नपुग्दै यो दिन आइपुग्ला भन्ने नसोचिएको उनले सुनाए ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.