Fast Nepal News

राष्ट्रपति निर्वाचन : कांग्रेसमा उत्साह बढ्दै

माओवादीले राष्ट्रपतिमा समर्थन गरे प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउने कांग्रेसको संकेत

banner single news

 फाल्गुन ,काठमाडौँ —राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा कांग्रेस नेताहरू उत्साही देखिन थालेका छन् । २५ फागुनमा हुने निर्वाचनसँगै अहिलेको राजनीतिक कोर्स परिवर्तन हुने उनीहरूको दाबी छ । कांग्रेसबाट हुने उम्मेदवारीमा एमालेबाहेक सबै दलबीच सहमति जुट्ने उनीहरूको भनाइ छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारको पक्षमा सहमति जुटाउन प्रायः सबै दलसँग छलफल भइरहेको बताए । ‘कांग्रेसको उम्मेदवारको पक्षमा राष्ट्रिय सहमतिका लागि दलहरूसँग निरन्तर छलफल भइरहेको छ । माओवादी पनि यसमा सकारात्मक नै छ,’ उनले भने ।

नेताहरूका अनुसार माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थनसँगै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पूर्ण कार्यकालको प्रतिबद्धता चाहेको छ । कांग्रेसले पनि माओवादीले राष्ट्रपतिमा सघाए प्रचण्डलाई प्रधानमन्त्रीमा पूर्ण कार्यकाल सघाउन सकारात्मक रहेको संकेत दिएको छ ।

स्रोतका अनुसार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफलमा छन् । कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरू पनि निरन्तर छलफलमा छन् । चाँडै माओवादीबाट राष्ट्रिय सहमतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय हुने र नयाँ राजनीतिक समीकरण बन्ने कांग्रेस नेताहरूको भनाइ छ ।

‘केही दिनमा माओवादीबाट राष्ट्रिय सहमतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्ने तयारी छ । अहिलेसम्म सबै रूपमा माओवादी सकारात्मक नै छ । माओवादीको निर्णयपछि औपचारिक रूपमा उम्मेदवारको नाममा निर्णय गर्नेछौँ,’ माओवादीसँग छलफलमा सहभागी एक नेताले भने ।

यसको संकेत केही दिनअघि महामन्त्री गगन थापाले समेत गरेका थिए । थापाले १ फागुनमा रुपन्देही– १ कांग्रेसले तिलोत्तमामा गरेको कार्यक्रममा १० फागुनसम्ममा नयाँ समीकरण बन्ने दाबी गरेका थिए । ‘१० पुसमा बनेको गठबन्धन १० फागुनसम्ममा भत्काएरै छाड्छौँ,’ उनको भनाइ थियो । थापा माओवादी नेताहरूसँग निरन्तर संवादमा छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि राष्ट्रपतिमा उम्मेदवारीसँगै नयाँ राजनीति कोर्स बन्ने दाबी गरे । शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले १३ फागुनमा उम्मेदवारी मनोनयनसँगै राजनीतिक कोर्स परिवर्तन हुने बताए । ‘संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँगै संविधानको सार्थक कार्यान्वयनमा जोडिएका पदमा कांग्रेसको स्वाभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्समा जाने स्थिति बन्दै गएको छ । हप्ता–दश दिनमा नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ,’ उनले भने ।

राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसमा देखिएको उत्साहलाई अर्थपूर्ण मानिएको छ । नेताहरूले राष्ट्रपतिको उम्मेदवार कसलाई अघि सार्ने भन्ने विषयमा भने मुख खोलेका छैनन् । कांग्रेस नेताहरू अहिलेसम्म रामचन्द्र पौडेलबाहेकलाई अघि सार्ने सम्भावना नरहेको बताउँछन् । यसबाहेक कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठको नाम पनि चर्चामा छ ।

Inside Article Ads

नेता प्रकाशमान सिंहले पनि कांग्रेसले अघि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरे । नेपाल जेसिसले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्को पहिलो दलका रूपमा राष्ट्रपतिमा कांग्रेसको दाबी स्वाभाविक र जित निश्चित रहेको जिकिर गरे । ‘शक्ति सन्तुलनका लागि कांग्रेसले अघि सार्ने उम्मेदवारमा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्नेछौँ । तर, कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्नुहुन्छ,’ सिंहको दाबी थियो ।

संसद्मा ठूलो दल बनेर पनि सत्ताबाहिर पुगेको कांग्रेसले २६ पुसमा सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनसँगै ‘कोर्स करेक्सन’को प्रयासलाई अघि बढाएको थियो । कांग्रेसको समर्थन पाएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गरिरहेका छन् । कांग्रेसले ९ माघमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक राखेर औपचारिक रूपमा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल सुरु गरेको थियो । सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको बैठकमा कांग्रेसले राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने रणनीति सुरु गरेको थियो । बैठकसँगै आफ्नोतर्फबाट र उम्मेदवारीका सम्बन्धमा अन्य दलहरूसँग समेत छलफल गरिरहेको छ । यसबाहेक कांग्रेसले औपचारिक बैठक बसेर राष्ट्रपतिको विषयमा कुनै निर्णय भने गरेको छैन ।

कांग्रेस नेताहरूले राष्ट्रपतिको उम्मेदवारमा कसलाई अघि सार्ने भन्नेबारे मुख खोलेका छैनन् । तर, अहिलेसम्म रामचन्द्र पौडेलबाहेकलाई अघि सार्ने सम्भावना नरहेको बताउँछन् । पौडेलबाहेक कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा र गोपालमान श्रेष्ठको नाम पनि चर्चामा छ ।

राष्ट्रपतिको निर्वाचनमा दुई मतदान केन्द्र, पौडेल निर्वाचन अधिकृत

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकेको छ । आयोगले नयाँ बानेश्वरस्थित संसद् भवनमा दुई मतदान केन्द्रसमेत तोकेको छ ।

आयोगका सहप्रवक्ता ऋषिराम भुसालले सोमबार संसद् भवनमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने बताए । त्यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) सदस्यका लागि एउटा तथा प्रदेश सभा सदस्यका लागि अर्को मतदान केन्द्र तोकिएको उनले बताए । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ ।

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.