Fast Nepal News

पुरानै प्रतिद्वन्द्वीबीच उपाधि होड

banner single news

बिर्तामोड — ३०  फागुन २०७८

बिर्तामोड , पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार आयोजक झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच अन्तिम भिडन्त हुँदै छ । चिरप्रतिद्वन्द्वी यी दुई टिम झापा गोल्डकपको उपाधिलाई चौथोपल्ट फाइनल भिड्दैछन् ।सिधै क्वाटरफाइनल खेल्दै फाइनल तय गरेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । झापालाई तीन पटक पराजित गरेर उपाधि जितिसकेकाले सोमबार पनि इतिहास कायम राख्ने आर्मीको दाउ छ । आयोजक झापाले भने यसपालि उपाधि जित्न टिम सक्षम रहेको दाबी गरेको छ । आइतबार प्रि–म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक सन्तोष गुरुङले विगतका कमजोरी सुधार गर्दै पाँचौं संस्करण झापामै राख्ने गरी गरी उत्रिने बताए । फाइनल पुगेर उपाधि जित्न नसकेको स्थिति यसपालि अन्त्य हुने उनको दाबी छ । ‘हामीले सधैं राम्रो खेलेका छौं, गोल गरेकै छौं तर उपाधि जित्नेगरी गोल गर्न सकेका छैनौं, यो पटक त्यो अवस्थाको अन्त्य हुन्छ, आर्मीलाई रोक्दै हामी च्याम्पियन बन्नेछौं,’ उनले दाबीसाथ भने ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले झापाको सेट टिम नभएकाले आफूहरू उपाधि जित्नेमा विश्वस्त रहेको सुनाए । उनले भने, ‘झापा पुरानै प्रतिद्वन्द्वी हो, उसलाई तीन पटक पराजित गरेर उपाधि जितिसकेका छौं, यसपालि पनि पुरानै इतिहास दोहोर्‍याउने हो, झापालाई पराजित गरेर उपाधि जित्नेमा विश्वस्त छौं ।’ उनले आफ्ना घाइते खेलाडीको स्वास्थ्य अवस्था सुधार भएर फाइनल खेल्न सक्षम रहेकाले पनि उपाधि जित्नेमा आफूहरू आशावादी रहेको बताए । आर्मीका कप्तान नवयुग श्रेष्ठले लामो समयको चोटपछि झापा गोल्डकपबाट खेलमा कमब्याक गरेका छन् । उनले झापाविरुद्धको फाइनल आफ्ना लागि विशेष रहेको बताए । ‘लामो समयको चोटपछि यही गोल्डकपबाट खेलमा फर्किएको छु, त्यसकारण पनि झापासँगको फाइनल मेरा लागि बिशेष बन्नेछ, जति सक्छु टिमलाई च्याम्पियन बनाउने गरी खेल्नेछु,’ उनले भने । झापाका कप्तान विशाल राई ‘बी’ ले सेट टिम नभए पनि अहिलेको झापा–११ को टिम देशकै उत्कृष्ट टिम भएको दाबी गरे । उनले उत्कृष्ट खेल पस्किन सक्ने खेलाडीहरू टिममा रहेकाले यसपल्ट आर्मीविरुद्ध प्रत्येक खेलाडीले शतप्रतिशत खेल पस्किँदै ट्रफी उचाल्ने बताए ।

Inside Article Ads

‘हो, हाम्रो टिम, सेट टिम होइन तर टिममा सबै उत्कृष्ट खेल्ने चर्चित खेलाडी छन्, त्यसैले यसपल्ट जसरी हुन्छ हामीले उपाधि जित्नैपर्नेछ र जित्छौं भन्नेमा विश्वस्त छौं,’ कप्तान विशालले भने । गोल्डकपमा घरेलु टोली झापाले क्वाटरफाइनलमा भारत सिक्किमको रेडपान्डा फुटबल क्लबलाई तथा सेमिफाइनलमा संकटा क्लब काठमाडौंलाई पराजित गरेको थियो । आर्मीले क्वाटरफाइनलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब र सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो । विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । विधागत उत्कृष्टलाई जनही २१ हजार र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै यसवर्ष एक थान मोटरसाइकलसहित झापाका विशाल राई ‘ए’ लाई विशेष पुरस्कार गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.