
बिर्तामोड — २२ फागुन २०७८
बिर्तामोड , पेनाल्टी शुटआउटमा जित निकाल्दै सातदोबाटो युथ क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ । शनिबार उद्घाटन खेलमा सातदोबाटोले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा निर्धारित समय २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जावलाखेलका राजेन्द्र रावलको पेनाल्टी प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेका थिए । त्यसपछि जावलाखेलका गौरव श्रेष्ठको पेनाल्टी प्रहार पोस्टको दायाँ साइडबाट बाहिरियो । टाइब्रेकरमा सातदोबाटोका आकाश बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले गोल गरेका थिए । जावलाखेलका विदेशी खेलाडी जुनियर र सुरजज्यू ठकुरीको प्रहारमात्र गोलमा परिणत भयो । खेलमा अग्रता पनि सातदोबाटोले नै लिएको थियो । मार्टिनले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । लामो पास पाएर अघि बढाएको बललाई जावलाखेलका डिफेन्डरले क्लियर गर्न नसक्दा मार्टिनले सहजै पोस्टको दिशा दिएका थिए ।
१२ औं मिनेटमा जावलाखेलका जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए । सुनील खड्काको पासमा जुनियरले सातदोबाटोका डिफेन्डर र गोलकिपरको जिल्याउँदै बललाई जालीको सम्पर्कमा पुर्याएका थिए । जुनियरले ३४ औं मिनेटमा दोस्रो गोल थप्दै पहिलो हाफमै टिमलाई अग्रता दिलाए । सुरजज्यूको पासमा उनले पोस्टको दायाँ साइडमा वान टचमै गोल गरे । ४८ औं मिनेटमा आशिष राईले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काएका थिए । सातदोबाटोले आक्रामक खेल खेल्न चाहे पनि जावलाखेलले सुरुदेखि नै संयमित खेल पस्किएको थियो । छोटो पासमा बल खेलाएको जावलाखेलविरुद्ध सुरु र अन्तिममा सातदोबाटोका खेलाडीले लगातार आक्रमण बुनेका थिए । खेलको २३ औं मिनेटमा जावलाखेलका निकोलास फर्नान्डेजको कडा फ्रिकिक प्रहार पोस्टको बारमा लागेर बाहिरिएको थियो । २९ औं मिनेटमा जावलाखेलका फ्लोरेन्ट कोराको पासमा सुनील खड्काले टच गर्न नभ्याउँदा बलले पोस्टको दिशा पाएन ।
( कान्तिपुर दैनिक )
