
दुबई — २९ कात्तिक २०७८
दुबई , प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले निर्णायक मोडमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले आइतबार ट्वान्टी–२० विश्वकप जितेको छ । अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई सात बलको खेल बाँकी छँदै आठ विकेटले पराजित गर्यो र त्यसमा वार्नरसँगै मिचेल मार्सले पनि अर्धशतक बनाए । कीर्तिमान पाँचपल्ट एकदिवसीय विश्वकप जितेको अस्ट्रेलियाले ट्वान्टी–२० क्रिकेटको विश्वकप जितेको भने यो नै पहिलोपल्ट हो । प्रतियोगितामा लक्ष्य पछ्याउने टिम जित्ने परम्परालाई कायम राख्दै अस्ट्रेलिया नै उपाधिको भिडन्तमा विजयी रहेको हो । अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाएर १ सय ७३ रन बनाएर विजय लक्ष्य पूरा गर्यो । प्रतियोगिताभरि उच्च लयमा रहेका बायाँ हाते ब्याटर वार्नरले ३८ बलमा आक्रामक ५३ रन बनाए । उनको ब्याट्बाट चार चौका र तीन छक्का निस्केको थियो । वार्नरले दोस्रो विकेटका लागि प्लेयर अफ द म्याच मार्ससँग ९२ रनको साझेदारी गरे ।
( कान्तिपुर दैनिक )
