Fast Nepal News

रोहित बने भारतीय कप्तान

banner single news

दिल्ली — २४ कात्तिक २०७८

दिल्ली , रोहित शर्मालाई विराट कोहलीको स्थानमा भारतको ट्वान्टी–२० क्रिकेट कप्तान बनाइएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार जनाएको छ । भारत सोमबारमात्र ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न नसकेर बाहिरिएको थियो । सुपर १२ को अन्तिम खेलमा सोमबार नामिबियालाई ९ विकेटको पराजित गरे पनि भारत त्यसअघि नै प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको थियो । रोहितले ३७ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाएपछि भारतले १ सय ३२ रनको लक्ष्य १५.२ ओभरमा १ सय ३६ रन बनाउँदै पूरा गरेको थियो । बीसीसीआईले ट्वीट गर्दै ३४ वर्षे ओपनिङ ब्याटर रोहितलाई न्युजिल्यान्डविरुद्ध हुने घरेलु शृंखलाका लागि भारतीय ट्वान्टी–२० अन्तर्राष्ट्रियको कप्तान बनाइएको जनाएको छ ।

कोहलीले यूएईमा भइरहेको ट्वान्टी–२० विश्वकपपछि कप्तानी छाड्ने पहिले नै बताएपछि रोहितलाई उनको स्थान लिन दाबेदारको सूचीमा राखिएको थियो । कोहलीले सन् २०१७ देखि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा भारतको कप्तानी गरिरहेका थिए । उनले सेप्टेम्बरमै ‘अत्यधिक कार्यभार’ का कारण कप्तानी त्याग्न लागेको जनाएका थिए । टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियमा भारत कोहलीकै कप्तानीमा ओर्लिनेछ । विश्वकपपछि रवि शास्त्रीको स्थानमा पूर्वब्याटिङ हस्ती राहुल द्रविडलाई भारतको प्रशिक्षकमा ल्याइँदै छ । आक्रामक ब्याटिङका लागि चिनिएका दाहिने हाते ब्याटर रोहितले २००७ यता भारतबाट सीमित ओभरको क्रिकेट खेल्दै आएका छन् । उनलाई २०१३ पछि मात्र भारतको टेस्ट टोलीमा समावेश गरिएको थियो ।

Inside Article Ads

रोहित इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सका कप्तान हुन् । उनले ५ पटक आईपीएल जितिसकेका छन् । कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरले अझै आईपीएल जित्न सकेको छैन । न्युजिल्यान्डसँगको शृंखलाका लागि आराम गर्न दिइएकाले कोहलीलाई भारतीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीमा राखिएको छैन । तीव्र गतिका बलर मोहम्मद सामी, जसप्रित बुमराह र अलराउन्डर रवीन्द्र जडेजालाई पनि समावेश गरिएको छैन । नोभेम्बर १७ देखि हुने शृंखलामा भारत र न्युजिल्यान्डबीच तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र दुई टेस्ट हुनेछ ।    

( कान्तिपुर दैनिक )

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.