Fast Nepal News

वेस्ट इन्डिजको एक पुस्ताको अन्त्य

banner single news

अबुधाबी — २२ कात्तिक २०७८

अबुधाबी , वेस्ट इन्डिज सुपरस्टार क्रिस गेलले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याएको शनिबार संकेत गरेका छन् र यसक्रममा भनेका छन्, ‘म अझै एक अर्को विश्वकप खेल्न चाहन्छु, तर यसका लागि मलाई छुट हुने छैन ।’ आफूले आफैंलाई ‘युनिभर्सल बोस’ भन्न रुचाउने ४२ वर्षीय गेलको वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध आठ विकेटले पराजित हुँदै ट्वान्टी–२० विश्वकप टुंग्याएको थियो । डिफेन्डिङ च्याम्पियन आफ्ना पाँचमध्ये चार खेलमा पराजित रह्यो । त्यस खेलको समाप्तिमा ३८ वर्षीय ड्वान ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे, तर गेलले भने औपचारिक रूपमा केही भनेका छैनन् । उनले भने, ‘मेरो खेलजीवन अविश्वसनीय रह्यो । मैले संन्यासबारे केही बोलेको छैन । सायद जमैकाका घरेलु दर्शक अगाडि बिदाइ लिन मलाई अवसर दिइनेछ । हेरौं के हुनेछ ।’ सन् २००६ मा उनले जमैकामै आफ्ना समर्थक अगाडि डेब्युको अवसर पाएका थिए र अन्त्य पनि त्यही मैदानमा गर्न चाहन्छन् ।

उनले थपेका छन्, ‘त्यस्तो केही पनि भएन् भने म पनि ड्वान ब्राभोकै बाटोमा लाग्नेछु र सबैलाई धन्यवाद दिन चाहन्छु । अहिलेका लागि भने केही भन्दिनँ ।’ वेस्ट इन्डिजका कप्तान किरोन पोलार्डले भने आफ्नो टिम ट्वान्टी–२० विश्वकपबाट बाहिरिएसँगै एक पुस्ताको अन्त्य भएको बताएका छन् । उनले भने, ‘हाम्रा केही खेलाडीले वेस्ट इन्डिज र विश्व क्रिकेटकै लागि राम्रो गरेका छन्, त्यसमा हामीलाई गर्व छ ।’ वेस्ट इन्डिज यसपल्ट प्रतियोगिताको सेमिफाइनल पनि पुग्न सकेन । खेलपछि ब्राभो र गेललाई भने अस्ट्रेलियाली खेलाडीले सम्मानसहित बिदाइ गरे । त्यस क्रममा ८९ रनको अविजित इनिङ्स खेलेका प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले भने, ‘भविष्यका सबै खेलाडीका लागि ब्राभो उदाहरण रहनेछन् । गेल त मेरा लागि पनि पछ्याउन लायक खेलाडी हुन् ।’ वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा ट्वान्टी ट्वान्टी विश्वकप जित्दा ब्राभो र गेल दुवै प्रमुख खेलाडी थिए । यसपल्ट भने ब्राभोको प्रदर्शन खराब रह्यो ।

उनले पाँच खेलमा २६ रनमात्र बनाए र दुई विकेट मात्र हात पारे । गेलले भने ४५ रन जोडे र अफस्पिनको मद्दतले एक विकेट लिए । संयोगले यो एक विकेट मिचेल मार्सको रह्यो र यो नै अस्ट्रेलियाले गुमाएको अन्तिम विकेट रह्यो । विश्वकप सुरु हुन अगाडि गेललाई टिममा राखिएकामा विवाद भएको थियो । उनले पछिल्ला पाँच वर्षमा एउटै ट्वान्टी–२० मा अर्धशतक बनाएका छैनन् । सन् २००७ मा भने उनी फरक ब्याट्सम्यान थिए । जोहानेसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध भएको खेलमा उनले १ सय १७ रन बनाएका थिए र यो नै ट्वान्टी–२० विश्वकप इतिहासको पहिलो शतक थियो । गेलले वेस्ट इन्डिजका लागि १ सय ३ टेस्टमा ७ हजार २ सय १४ रन बनाए । त्यसमा उनको सर्वाधिक ठूलो स्कोर ३ सय ३३ रन रह्यो । डन ब्रेडमन, ब्रायन लारा र वीरेन्द्र सहवागपछि उनी टेस्टमा दुई तेहोरो शतक बनाउने ब्याट्सम्यानमा पर्छन् । उनले ३ सय १ एकदिवसीय अन्तर्राष्ट्रियमा १० हजार ४ सय ८० रन बनाए ।उनले ट्वान्टी–२० मा दुई शतकसहित १ हजार ८ सय ९९ रन बनाए । खेलपछि उनले भने, 
Inside Article Ads

‘आफ्नो खेलजीवनमा मैले धेरै संघर्ष गरें, तर यो उत्कृष्ट पनि रह्यो । त्यसैले म सबैलाई धन्यवाद दिन चाहन्छु ।’ ब्राभोले भने अस्ट्रेलियाविरुद्धको खेल नै आफ्नो अन्तिम भएको घोषणा गरे । उनले ४० टेस्टमा २ हजार २ सय र यसै क्रममा ८६ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ९९ विकेट लिँदै २ हजार ९ सय ६८ रन बनाएका उनले ९१ ट्वान्टी–२० मा १ हजार २ सय ५५ रन बनाए । उनको नाममा ट्वान्टी–२० मा ७८ विकेट रह्यो । ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि फ्रेन्चाइजी क्रिकेट भने खेलिरहने बताए । उनले भने, ‘शरीरले साथ दिएसम्म म खेलिरहने छु । वेस्ट इन्डिजका लागि खेल्न पाउनु पनि मेरो लागि ठूलो थियो ।’ वेस्ट इन्डिज क्रिकेटका अध्यक्ष रिकी स्केरिटले ब्राभोको प्रशंसा गर्दै उनले ट्वान्टी–२० कसरी खेल्ने भनेर उदाहरण पेस गरेको बताए ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.