Fast Nepal News

बाइडेनको जितले चीनलाई चुनौती

banner single news

वासिङ्टन —  कार्तिक २४, २०७७।

केही दिनको अनिश्चिततापछि जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । डोनाल्ड ट्रम्पको चारवर्षे कार्यकालमा विश्वका अन्य शक्तिशाली देशसँग अमेरिकाको सम्बन्धमा निकै ठूलो परिवर्तन देखिएको थियो ।

अमेरिकामा बाइडेनको जितले चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा गरिदिएको बीबीसीले जनाएको छ । चीन डोनाल्ड ट्रम्प ह्वाइटहाउसबाट बिदा भएको हेर्न चाहन्छ भन्ने कतिपयको आकलन रहेको थियो । किनकि दुई देशबीच पछिल्लो समय व्यापार–युद्ध चर्केको छ । त्यसका साथै कोभिड–१९ को महामारीका लागि उनले चीनलाई दोष लगाउँदै आएका थिए ।

तर केही विश्लेषकहरूको विचारमा चीनले ट्रम्प ह्वाइटहाउसका लागि पुनः निर्वाचित भएको भएको हेर्न चाहन्थ्यो । किनकि उनका नीतिहरूका कारण अमेरिकाको शक्ति विश्वमा क्षीण हुँदै जान सक्ने भएकाले त्यो आफ्नो हितमा हुने बेइजिङको बुझाइ छ ।

तर आगामी राष्ट्रपति बाइडेनले जलवायु परिवर्तनजस्ता ठूला मुद्दामा आपसी सहयोग खोज्ने प्रयास अघि बढाउनेछन् । त्यस क्रममा चीनले पनी आफ्ना लागि फाइदा हुने अवसरहरू खोज्ने निश्चित छ । बाइडेनले चीनसँग अमेरिकी सम्बन्ध सुधारका लागि सक्दो प्रयास गर्नेमा दुई मत छैन । जसका कारण विश्वशक्ति बन्ने चिनियाँ आकांक्षा पर धकेलिन सक्ने विश्लेषकहरूको भनाइ छ ।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस भारतीय मूलकी भएका कारण उनलाई भारतमा गौरवका रूपमा लिइएको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले बाइडेनबाट उनका पूर्ववर्तीभन्दा केही चिसो प्रतिक्रिया पाउन सक्ने आकलन छ । भारत लामो समयदेखिको महत्त्वपूर्ण अमेरिकी साझेदार हो । यो नीतिमा बाइडेन प्रशासनले खासै परिवर्तन गर्ने भने देखिन्न । विश्वशक्तिका रूपमा चीनको उदय रोक्न अमेरिकाले भारतको मन जित्न जरुरी देखिन्छ ।

Inside Article Ads

त्यसका साथै विश्वव्यापी आतंकवादविरुद्ध लड्न दक्षिण एसियामै सबैभन्दा बढी जनसंख्या भएको भारत अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको महत्त्वपूर्ण साझेदार हुने देखिन्छ । तर बाइडेनको चुनाव प्रचार अभियानको वेबसाइटमा कश्मीरका सबै बासिन्दाको अधिकार पुनः स्थापित हुनुपर्ने आह्वानदेखि लिएर नेसनल सिटिजन रेजिस्टर (एनआरसी) तथा नागरिकता संशोधन ऐन (सीएए) को विरोध गरिएको छ । त्यसका साथै कमला ह्यारिसले पनि भारतको हिन्दु राष्ट्रवादी सरकारका नीतिहरूको कडा आलोचना गरेकी छन् । त्यसैले आगामी दिनमा अमेरिका–भारत सम्बन्धबारे भने यसै भन्न सकिने अवस्था छैन ।

उत्तर कोरियाले कुनै समय बाइडेनको कडा आलोचना गर्ने गर्थ्यो । तर अब किम जोङ–उनले बाइडेनले के कस्तो कदम चाल्छन् भन्नेमा प्रतीक्षा गर्ने आकलन गरिएको छ । डोनाल्ड ट्रम्पसँगको अभूतपूर्व भेटवार्ताका कारण उपलब्ध विभिन्न अवसरहरूका कारण पनि किम बाइडेनभन्दा ट्रम्पको पक्षमा थिए ।

बाइडेन शक्तिमा आएपछि अमेरिका र यूकेको ‘विशेष मैत्रीपूर्ण सम्बन्ध’ ओरालो लाग्न सक्ने बीबीसीले उल्लखे गरेको छ । अनुभवी राजनीतिज्ञ बाइडेन र चर्को ब्रेक्जिट पक्षधर बोरिस जोन्सनबीच स्वाभाविक तालमेल मिल्न नसक्ने अनुमान छ ।

कुनै बेला डोनाल्ड ट्रम्पले ब्रिटिस प्रधानमन्त्री जोन्सनलाई ‘ब्रिटेन ट्रम्प’ भनेका थिए । त्यस्तै बाइडेनले पनि जोन्सनलाई ट्रम्पका ‘शारीरिक र भावनात्मक नक्कल’ भनेका थिए । तसर्थ बाइडेनले यूकेसँग भन्दा पहिला युरोपेली संघ, जर्मनी वा फ्रान्ससँग सम्बन्ध अघि बढाउन सक्ने जनाइएको छ । यद्यपि अमेरिकी चुनावको केही साताअघि जोन्सनले बाइडेन निर्वाचित हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.