Fast Nepal News

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

banner single news

 

काठमाडौं । अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्ने आदेश जारी गरेको हो ।

दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण हजारौं उडान प्रभावित भएका छन् । उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरका अनुसार एफएएको आदेशपछि अमेरिकाभर करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन् ।

अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जाल एक्समार्फत सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएपछि एफएएले देशव्यापी उडान रोक्ने निर्णय गरेको जानकारी दिएका छन् । उनका अनुसार एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ ।

एफएएका अनुसार यो अवरोध अस्थायी दूरसञ्चार प्रणाली विफलताका कारण भएको हो । सावधानीका रूपमा सबै उडान रोकिएको र हवाई क्षेत्रमा रहेका सबै विमानको अवस्था पहिचान गरिएको प्रशासनले जनाएको छ । अन्तर्राष्ट्रिय उडानलाई भने अवस्थाअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिने बताइएको छ ।

अमेरिकाका २२ वटै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको थियो । ती केन्द्रहरूले आ–आफ्नो क्षेत्रको हवाई यातायात व्यवस्थापन गर्नुका साथै विशेषगरी विमानस्थलतर्फ आइरहेका विमानलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी सम्हाल्छन् ।

Inside Article Ads

उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४का अनुसार उडान रोक्ने आदेश जारी हुँदा करिब ४ हजार ४२ विमान अमेरिकाका विभिन्न विमानस्थलतर्फ उडिरहेका थिए । यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटनामा कुनै सुरक्षा खतरा वा देशमाथि आक्रमण भएको संकेत नदेखिएको बताएका छन् । ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले सबै उडानको अवस्था पत्ता लगाइएको र यात्रुहरू सुरक्षित रहेको जानकारी दिए ।

‘सबै जना सुरक्षित छन् । सबै उडानको हिसाब राखिएको छ । यो अर्को ९÷१० घटना होइन,’ उनले भने । यद्यपि, सञ्चार प्रणालीमा आएको समस्या समाधान गर्न केही समय लाग्न सक्ने उनको भनाइ छ ।

मुलिनले एयर ट्राफिक कन्ट्रोलरलाई सहयोग गर्ने उद्देश्यले प्रयोगमा ल्याउन लागिएको नयाँ कृत्रिम बौद्धिकता (एआई) उपकरणसँग पनि यो अवरोधको सम्बन्ध हुन सक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार अहिले नै कुनै सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था छैन ।

उनले अहिलेसम्म यो घटना नियोजित आक्रमणका कारण भएको कुनै संकेत नदेखिएको पनि स्पष्ट पारे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइसकिएको उनले बताए ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकामा देशव्यापी रूपमा हवाई उडान रोकिएको यो दोस्रो घटना भएको समाचारमा उल्लेख छ । यसले अमेरिकी हवाई यातायात प्रणालीमा परेको अवरोधको गम्भीरता देखाएको छ । एएनआई

Visited 2 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.