
सुमित्रा भुजेल
फागुन १०,बेसीशहर
लामो समय कोभिडले प्रभावित बनेको यहाँका दोर्दी–१ आयोजनाबाट आगामी वैशाख महिनादेखि बिजुली उत्पादन थाल्ने भएको छ । लमजुङको दोर्दी गाउँपालिका– ६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको दोर्दी– १ जलविद्युत् आयोजनाको आगामी वैशाख महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुरुप काम अघि बढाइरहेको आयोजना प्रमुख उज्जवल सिलवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, कोभिडका कारणले झण्डै ६ महिना जस्तै काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगेपनि अब निर्धारित समयमा काम सम्पन्न गर्दै बिजुली उत्पादन गर्छौ । आयोजनाको हालसम्म ९० प्रतिशत बढी निर्माण कार्य सम्पन्न गर्दै बाँकी कार्य पनि सम्पन्न गर्नका लागि कामलाई तीब्रता दिँदै आएको उहाँको भनाई छ । गत चैत महिनामै बिजुली उत्पादन गर्ने आयोजनाले जनाएपनि विविध कारणले निर्माण अवधि बढेको आयोजनाले जनाएको छ । चैत यता लामो समय कोभिडले काम प्रभावित बनाउँदा निर्माण कार्यमा अवरोध पुगेको आयोजनाले जनाएको छ ।
यस आयोजनाको दुई हजार पाँच सय १५ मिटर लामो रहेको सुरुङ ब्रेक थु्र भएको आयोजनाले जनाएको छ । त्यस्तै सिभिल संरचना निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाको ७ सय मिटर पेनस्टक पाइपमध्ये १ सय ५० मिटर पाइप जडान हुन बाँकी रहेको अर्थात् ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख सिलवालले बताउनुभयो । उहाँका अनुसार आयोजना आफैँले सब स्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नेे १ सय ३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिने भएको छ । यसको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको र २० प्रतिशत मात्र बाँकी रहेको छ । त्यस्तै, पावर हाउसमा मेशिन जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।
दुई अर्ब २९ करोड रुपैयाँको लगानीमा निर्माण कार्य सक्ने लक्ष्यका साथ विसं. २०७४ बाट थालनी गर्दै विसं. २०७६ चैत महिनामा सक्ने आयोजनाको लक्ष्य थियो । तर अघिल्लो वर्ष दोर्दी खोलामा आएको बाढी लकडाउन लगायतका कारणले निर्माण अवधि लम्बिएको हो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ । त्यस्तै यस आयोजना अघि यस दोर्दी कोरिडोरमै निर्माणाधीन दुई आयोजनाले आगामी चैत महिनाभित्रै बिजुली उत्पादन गर्ने भएको छ । हिलमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत र लिबर्टी इनर्जी लिमिटेडद्धारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाबाट बिजुली उत्पादन हुने भएको छ । यस जिल्लाबाट चैत महिनामा यी दुई आयोजना गरी ५२ मेगावाट बिजुली उत्पादन भएसँगै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछन्
