Fast Nepal News

ठाडोभाकाको लाइभ देख्दा तीनपिप्लेबासी रमाए

banner single news

सुमित्रा भुजेल

बेसीशहर । ठाडोभाका लोककला प्रतिष्ठान नेपालको पाँचौ स्थापना दिवस सम्पन्न भएको छ । यहाँ स्थित शिशुविद्याश्रम माविको हातामा एक विशेष कार्यक्रमका साथ ठाडोभाका प्रस्तुतिका साथ दिवस राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाको प्रमुख आतिथ्यतामा र उपमेयर धनकुमारी गुरुङको विशेष आतिथ्यतामा फागुन २ गते मनाइएको हो ।
स्थापना दिवसको उदघाटन गर्दै मेयर थापाले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनको नेपाल र नेपालीको पहिचानका लागि आवश्यक हो । यो कार्य स्थानीय सरकारको पनि हो, हामीहरुको ध्यानाकर्षण गर्ने प्रतिष्ठानको मागप्रति आफू सहमत रहेको बताउँदै उहाँले त्यसको सम्बोधन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ठाडोभाका भन्ने वित्तिकै जिल्ला बाहिर लमजुङ र लमजुङमा दुराडाँडाको विम्व आउँछ । समाजमा धेरै प्रतिभा लुकेका छन् । तीनको उजागर गर्ने सराहनीय कार्य यो प्रतिष्ठानबाट भएको छ ।’ पुराना कुरामा वैज्ञानिकता लुकेको पाइन्छ, त्यसैले पनि यस्ता विषय वस्तुको संरक्षण हुन आवश्यक छ थापाले भन्नुभयो ।
यसैगरी, विशेष अतिथि उपमेयर धनकुमारी गुरुङले ठाडोभाका लोककला प्रतिष्ठानका गतिविधिसँग आफू नजिक रहेको बताउनु भयो । उहाँले नगरपालिका प्रतिष्ठानसँग सहकार्य गर्न तयार छ भन्नुभयो ।
सो अवसरमा सोही विद्यालयको कक्षा– ६ मा अध्ययन गर्ने रोशन कुमाललाई प्रतिष्ठानले सो विद्यालयमा अध्ययन गर्दा लाग्ने सबै प्रकारका खर्च किताव, कापी, कलम, डे्सका साथै सबै प्रकारका फि समेत बेहोर्ने घोषाण गर्दै ती सामग्री प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थापा, विशेष अतिथि उपमेयर गुरुङ र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ती सामग्री रोशन र उनकी आमालाई हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै प्रतिष्ठानका अध्यक्षले संस्थागत चिनारी दिनु भएको थियो । उहाँले अझै पनि लोककला, संस्कृति, साहित्य तथा पत्रकारिताका क्षेत्रमा काम गर्नेहरुले राज्य आफ्नो अभिभावक भएको अनुभूति गर्न नपाएको स्थितिप्रति दुःख व्यक्त गर्नु भयो । गाउँ गाउँमा सिंहदरबार आएको भनिएको बेलामा यस्तो दुःखद स्थितिको अन्त्य हुनुपर्छ त्यसका लागि स्थानीय सरकारका प्रमुख सहित सबैको ध्यानाकर्षण गर्दछु भन्नुभयो । उहाँले प्रतिष्ठान स्थापना भएको छोटो अवधिमा अब यो भाका मर्दैन भन्ने सुनिश्चित भएको, त्यसका लागि वर्षमा एउटा ठाडोभाकाको प्रतियोगिता गर्ने, गायकगायिकाको पहिचान गर्ने, नयाँ प्रतिभालाई यसतर्फ आकर्षण गर्न छात्रवृत्ती प्रदान गर्ने कार्यक्रम तय गरिएको बताउनु भयो ।
प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मातृका खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य मेषबहादु भण्डारी, चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष एवम् रेडक्रसको राइनास उपशाखाका सभापति जगत कट्टेल, सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्ट, विद्यालयका सहायक प्रधानाध्यापक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ र गायिका काशी तामाङ, प्रतिष्ठानका कार्यकारी सदस्य सीता दुरा र आजीवन सदस्य आशबहादुर विक, नवीन भण्डारी, भुन्टी तामाङ र सन्त तामाङको जोडीले ठाडोभाकाको प्रस्तुति गर्नु भएको थियो ।
यसैगरी, उक्त माविकी छात्रा सविना विकले ठाडोभाका, शिक्षक सावित्री पोखरेल र छात्रवृत्ती पाउने कुमालकी आमा डिलमाया थापा र छात्र कुमालले पनि आ– आफ्नो प्रस्तुति गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका संरक्षक धम्पु र सावित्री पोखरेल र डिलमाया थापाका बीचमा दोहोरी चलेको थियो ।
प्रतिष्ठानका सचिव कृष्ण आलेले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य एवम् शिशुविद्यश्रम माविका प्रधानाध्यापक नानुमाया पराजुलीले गर्नु भएको थियो ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.