
लमजुङ सुनचाँदी व्यवसायी संघले आफ्नो २५ औँस्थापना दिवसमा चियापान तथा आश्रमलाई सहयोग गरेर मनाइएको छ । आज बेसीशहर नारायणस्थानमा रहेको आफ्नै कार्यालयमा चियापान तथा छलफल कार्यक्रम तथा हाइस्कूल चोक नजिकै रहेका मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्दै यस संघले २५ औँ दिवस मनाएको हो ।
यस दिवसमा आयोजित कार्यक्रमको उद्घाट गर्नुहुँदै संघका पूर्वअध्यक्ष तथा केन्द्रिय सदस्य हरिबहादुर विश्वकर्माले यस संघलाई माथि उठाउनका लागि सबै एकजुट भएमा सम्भव भएको भन्दै सबै एकजुट हुनलाई आग्रह गर्नुभयो । क्षमता, नेतृत्व विकासका लागि युवालाई नेतृत्व दिनुपर्ने समेत धारण राख्नुभयो । त्यस्तै, उहाँले भन्नुभयो, यतिबेला विदेशी कालीगढको विगविगी रहेकाले यसलाई विस्थापित गर्नका लागि यही दक्ष कालीगढ उत्पादन गरेर अघि बढ्नुपर्नेछ । यसरी अघि बढेमा यहाँका कालीगढका जीवन स्तर माथि उठ्नुका साथै उनीहरुको विभिन्न समस्याहरु हट्ने उहाँको भनाई छ । कालीगढहरुलाई दक्ष बनाउका लागि केन्द्रिय समितिले सहयोग तालिमको व्यवस्था गर्न लागेको बताउनुभयो ।
त्यस्तै, संघको गण्डकी प्रदेशका सचिव नविन विश्वकर्माले सरकारले उचित रुपमा सुनचाँदी व्यवसायीको आवश्यकता अनुसार सुनको आपुर्ती गर्न नसकेकाले व्यवसायीहरुलाई व्यवसाय गर्नलाई समस्या भइरहेको बताउनुभयो । व्यवसायीको समस्या हल गर्नका लागि प्रदेश कमिटिको तर्फबाट सरकारसँग पहल तथा आग्रह गरिरहेको उहाँको भनाई छ । त्यस्तै, उहाँले सिपमुलक तालिम प्रदेश सरकारको सहकार्यमा संघको प्रदेश कमिटिले दिन लागेको र प्रत्येक जिल्लाबाट ५ जनाको दरले सहभागि हुन पाउने भन्दै तालिमले थप व्यवसायमा दक्ष हासिल गर्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, व्यवसायी मुखी बातावरण बनाउनका लागि पहल भइरहेकाले व्यवसायीहरु चिन्तित भने हुँदैन ।
यस कार्यक्रममा स्वागत मन्तव्य संघका द्धितिया उपाध्यक्ष तोत्रबहादुर विश्कवकर्माले गर्नुभएको थियो । संघका अध्यक्ष देवबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णबहादुर सुनारले गर्नुभयो । यस कार्यक्रम पश्चात् यस संघका पदाधिकारी तथा सदस्यहरु उक्त आश्रममा पुगेर खाद्यान्न सहयोग गरेको थियो । संघका केन्द्रिय सदस्य विश्वकर्मा र संघका जिल्ला अध्यक्ष विश्वकर्माले संयूक्त रुपमा आश्रमकी संयोजक अनिता अधिकारीलाई दाल चामल, तेल लगायतका सामग्री हस्तान्तरण गर्नुभयो । उक्त सामग्री ७ हजार बराबरको रहेको संघका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
संघको २५ औँ स्थापना दिवसको अवसरमा केही मात्रमा भएपनि सामाजिक कार्य गर्ने लक्ष्यका साथ यस आश्रमलाई यस सामग्री दिएको उक्त संघले जनाएको छ । यस सहयोग सामग्रीले आश्रमलाई टेवा पुगेको आश्रमी संयोजक अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस हाश्रममा हाल ३० जना बेवारिसे नागरिकले आश्रय लिइरहेका छन् ।
