
१८ असार,काठमाडौँ-भारतमा हुने आगामी एकदिवसीय विश्वकप खेल्ने सपनासहित ग्लोबल क्वालिफायर खेल्न जिम्बावे पुगेको नेपालले सातौँ स्थानको लागि भएको प्लेअफ सेमिफाइनलमा युएईलाई हराएको छ।
जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्लेअफमा नेपालले युएईलाई तीन विकेटले पराजित गरेको हो।
युएईले दिएको एक सय ८२ रनको लक्ष्य नेपालले सात विकेटको क्षतिमा ४३.२ ओभरमा पूरा गर्यो। एकपछि अर्को विकेट गुमाएर धराशयी भएको नेपाललाई जित दिलाउन दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरे।
दीपेन्द्रले एकदिवसीय म्याचमा व्यक्तिगत तेस्रो अर्धशतक बनाउने क्रममा ७९ रन बनाए भने सन्दीपले २३ रनको योगदान दिए। दुवै अविजित रहे।
त्यसअघि नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि संकटग्रस्त अवस्थामा पुगेको थियो। आसिफ सेखको स्थानमा मौका पाएका अर्जुन साउद पाँच बल खेलेर एक रनमै आउट हुँदा नेपालको स्कोर दुई रन मात्र थियो। त्यसपछि २९ रनको अवस्थामा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमायो। जारी प्रतियोगितमा पहिलोपटक मौका पाएका ज्ञानेन्द्रले पनि आफूलाई प्रमाणित गर्न सकेनन्। २२ बल खेलेका उनले १३ रन बनाए।

नेपालले तेस्रो विकेट १४.३ ओभरमा ४९ रनको अवस्थामा गुमाएको थियो। कप्तान रोहितकुमार पौडेल १५ बलमा चार रन बनाएर पेभेलियन फर्किए। टिमले तीन रन मात्र जोड्दा भीम सार्की व्यक्तिगत एक रन बनाई आउट भएपछि नेपाल संकटमा देखियो।
भीम पेभेलियन फर्किएलगत्तै टिमले तीन रन जोड्दा आरिफ सेखलाई पनि गुमायो। आरिफले पनि एक रन मात्र बनाए। यति वेलासम्म एक इन्डबाट कुशल भुर्तेलले सम्हालिरहेका थिए। तर, २१औँ ओभरको अन्तिम बलमा उनी व्यक्तिगत ३५ रनको अवस्थामा कुशल आउट भएपछि नेपाल पूरै धराशयी देखियो।
त्यसपछि क्रिजमा आएका गुल्सन झाले पुनः एकपटक संकटका वेला अलराउन्ड प्रदर्शन गरे। उनले दीपेन्द्रसिंह ऐरीसँग सातौँ विकेटका लागि ४३ रनको साझेदारी गरे। २४ बलको सामना गरेका गुल्सनले १२ रन बनाए।
गुल्सन आउट भएपछि दीपेन्द्रलाई साथ दिन क्रिजमा सन्दीप लामिछाने आए। दुवैले ७९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए।
त्यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि युएई ४६.५ ओभरमा एक सय ८१ रनमा अलआउट भएको थियो। युएईलाई अलआउट गराउन सन्दीपले कसिलो बलिङ गर्दै तीन विकेट लिए। करण केसीले पनि तीन विकेट नै लिए भने तेस्रो एकदिवसीय खेलिरहेका प्रतीश जिसी, गुल्सन र दीपेन्द्रले समान एक–एक विकेट लिए।
आजको जितसँगे नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। नेपाल र आयरल्यान्डबीच मंगलबार प्रतिस्पर्धा हुनेछ। यसअघि सातौँ स्थानको अर्को प्लेअफ सेमिफाइनलमा अमेरिका र आयरल्यान्डबीच प्रतिस्पर्धा भएको थियो। त्यहाँ आयरल्यान्ड ६ विकेटले विजयी भएको थियो।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।
