Fast Nepal News

अब मैदानमा सिधै भारत र पाकिस्तानसँग

banner single news

२० बैशाख,काठमाडौँ-क्रिकेटका नेपाली फ्यानको उत्सुकता बढाउँदै दुई दिन चल्यो– एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल । नेपालले सोमबारै विपक्षी यूएईको ९ विकेट खोसेर जितको आधार तयार पारिसकेको थियो । र, मंगलबार ७ विकेटको जित रच्दै एसिया कपको ढोका खोलेको छ ।

३१ ओभरभित्र विजय लक्ष्य पूरा गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियनमात्र बनेन, सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो खेल सुनिश्चित पनि गर्‍यो । पहिलो पटक एसिया कपमा खेल्न लागेको नेपाल भारत र पाकिस्तानको समूहमा रहनेछ ।
Inside Article Ads

 

सन् २०१४ मा नेपालले बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेल्दै समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यस्तै २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो, जसलाई हालै सम्पन्न विश्वकप लिग–२ बाट अर्को चार वर्षका लागि सुरक्षित बनाएको छ । तर, सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने यो सफलता नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो हो ।

तर, सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने यो सफलता नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो हो ।

‘एसिया कपको भाव निकै ठूलो छ, हामी सानैदेखि भारत, पाकिस्तानको खेल हेरिरहेका छौं । अब भारत र पाकिस्तानसँग नै खेल्न गइरहेका छौं, त्यसैले यो हाम्रा लागि ठूलो अवसर हो,’ कप्तान रोहित पौडेलले भने, ‘टिमले जुन प्रदर्शन दिएको छ, एउटा कप्तानको हैसियतमा गर्व गर्छु ।’

एसिया कप खेल्ने भएपछि नेपालको अन्तर्राष्ट्रिय पहिचान अझ व्यापक हुने कप्तान रोहितको विश्वास छ । ‘२०१४ को विश्वकपमा पारस (खड्का) दाइ, ज्ञानु (ज्ञानेन्द्र मल्ल) दाइलाई हेरेर हामी प्रेरित भएका थियौं । अबको एसिया कपले पनि धेरैलाई प्रेरित गर्नेछ । एसिया कपमा गएर राम्रो खेल्ने हो भने सबैले मूल्यांकन गर्नेछन्,’ उनले भने, ‘राम्रो टिमसँग खेल्दा नै सबैले त्यो टोलीलाई हेर्ने हो, भारत र पाकिस्तानसँग खेल्दा विश्वले नेपाललाई हेर्नेछ र हामी नेपाली खेलाडीलाई अवसर बन्दै आउँछ ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतियोगिताहरूमा बलियो प्रदर्शन गर्दै आए पनि एसीसीका प्रतियोगितामा नेपाल उपाधिका हिसाबले खासै सफल हुन सकेको थिएन, १९९६ देखि आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको नेपालको एसिया कप सपना हरेक वर्ष टाढिँदै गएको थियो । यसपालि पनि १० राष्ट्र सम्मिलित प्रिमियर कपमा एउटा हारले पनि उपाधि दौडबाट नेपाल बाहिरिने सम्भावना बन्थ्यो । तर, दुई साता लामो प्रतियोगितामा उत्कृष्ट खेल्दै नेपालले एसिया कपको ढोका खोलेको छ । तीन महिनाअघि मात्र नेपाली क्रिकेट सम्हाल्न आएका भारतीय प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले यो सफलता हात पारेको हो । उनी आएयता नेपालले विश्वकप लिग–२ का १२ खेलमा अविश्वसनीय हिसाबमा ११ खेल जित्दै तेस्रो स्थान हात पारेर सिधै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो । उनको प्रशिक्षणमा अहिले अर्को सफलता थपिएको छ । उनी आएयता नेपालले १८ मध्ये १६ खेल जितेको छ र एकमात्र हार बेहोरेको छ ।

भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्तीसँग खेल्न पाउने मौकालाई प्रशिक्षक देसाई असाधारण यात्राका रूपमा व्याख्या गर्छन् । ‘भारत र पाकिस्तानसँग खेल्नु हाम्रा लागि नयाँ पक्ष हुनेछ र यो हामीलाई नयाँ अनुभव हुनेछ,’ उनले भने, ‘खेल दौरान हाम्रा खेलाडीको उत्साहसँगै मनस्थिति र प्रस्तुति महत्त्वपूर्ण रह्यो । लगातार दबाबमा पनि उनीहरूले उच्चस्तरको प्रदर्शन गरे ।’

कप्तान रोहित प्रतियोगिताअघि सोचेकै नतिजा आएको सुनाउँछन् । भन्छन्, ‘जुन हाम्रो प्रक्रिया थियो, त्यसलाई पछ्याउँदै र विश्वास गरेर प्रदर्शन दिन सफल भयौं,’ रोहित प्रशिक्षकले आफूहरूलाई विजयको बाटो देखाएको जनाउँछन् । रोहित र देसाईको साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाइ दिइरहेको छ र नेपाल एसिया कप खेल्न योग्य बनेको छ ।

दुईदिने फाइनलका नायक थिए गुलसन झा । उनले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६७ रन बनाए । प्लेयर अफ द फाइनल बनेका उनको भनाइ छ, ‘एसिया कप एउटा सपना हो । सानैदेखि अरूले खेलेको एसिया कप हेर्दै आएका छौं, अब आफैं खेल्न गइरहेका छौं, त्यसैले हामीलाई यो धेरै ठूलो अवसर हो ।’

‘वैकल्पिक दिन’ मंगलबार १०६–९ बाट खेल सुरु गरेको यूएईले थप ११ रनमात्र जोड्दै इनिङ्स टुंग्याउनुपरे पनि नेपाललाई सुरुमा कडा चुनौती दियो । पहिलो ८ ओभर सकिँदा २२ रन मात्र बनाउन सकेको नेपालले त्यतिबेला ३ विकेट गुमाइसकेको थियो । अर्कोतर्फ वर्षाको अवरोधका कारण पनि नेपालमाथि दबाब बढिरहेको थियो । चुनौतीको यस घडीमा गुलसन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेपछि नेपालले ऐतिहासिक जितका साथ उपाधि चुम्यो ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.