Fast Nepal News

एसिया कपको ढोका खोल्ने विश्वास

मंगलबार पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान छ, त्यसैले नेपाललाई यूएईविरुद्धको फाइनल जतिसक्दो चाँडो टुंगाउने हतारो हुनेछ

banner single news

१९ बैशाख,काठमाडौँ -कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललित राजवंशीले लगातार बलमा आसिफ खान र जाहुर खानलाई आउट गरेका थिए । त्यसपछि वर्षाले खेल पूरै प्रभावित हुन पुग्यो । नेपाल र यूएईबीच एसीसी प्रिमियर कप क्रिकेट फाइनलको सोमबारको खेल स्थगित भयो ।

मंगलबार खेल सुरु हुँदा ललित ह्याट्रिक विकेटमा हुनेछन् । नेपाली टोलीको नजर भने उपाधितर्फ हुनेछ । फाइनलका लागि मंगलबार वैकल्पिक दिन राखिएको हो ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो ।

यूएईले यहींबाट मंगलबार खेल सुरु गर्नेछ । यूएईसँगको खेल नेपालले पूर्ण नियन्त्रणमा लिएको छ । यो अवस्थाबाट नेपाल विजयको असली हकदार छ । यूएईमाथि विजय हात पारे नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने भनिएको एसिया कपमा छनोट हुनेछ । भारतले पाकिस्तान गएर खेल्न नमानिरहेको समयमा एसिया कप आयोजनालाई लिएर धेरै अन्योलता छाएको छ । तर, नेपाली टोली यो अन्योलतामा अडिने छैन र जतिसक्दो यूएईलाई अलआउट गरेर विजयतर्फ अगाडि बढ्ने निश्चित छ ।

हिलेसम्म एसिया कपमा पुग्न नसकेको पृष्ठभूमि र एसिया कपमा भारत, पाकिस्तानको समूहमा रहेर खेल्न पाउने तालिकाको हिसाबमा नेपाली क्रिकेटको यो सबैभन्दा ठूलोमध्येको एक दिन बन्नेछ ।

सोमबार नै नतिजा आउने सम्भावना र नेपाली क्रिकेटको सबैभन्दा ऐतिहासिक दिन बन्ने आसमा हजारौं समर्थक कीर्तिपुरमा ओइरिएका थिए । १२ हजारभन्दा बढी दर्शक रंगशालाभित्र थिए भने हजारौं दर्शकले पर्खालबाहिरबाट हेरेका थिए । म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले दिउँसो ३ः३० बजे दिनको खेल स्थगित भएको घोषणा गर्नु अघिसम्म धेरै दर्शक मैदानभित्र र बाहिर छाता ओढेर नतिजाको पर्खाइमा थिए । पर्खालभित्र सोमबार जम्मा भएको फोहोर दर्शकले आफैं सफा गरेका थिए ।

दर्शकका लागि टिकट दर २ सय र १ सय ५० तोकिएको थियो । फाइनलको टिकट सोमबारको मात्र थियो । त्यसैले मंगलबार भने दर्शकका लागि फरक व्यवस्था गरिएको छ । पहिला आउने १२ हजार दर्शकलाई निःशुल्क प्रवेश दिइने र त्यसपछि गेट बन्द गरिने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनाए ।

Inside Article Ads

मंगलबार पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान छ । त्यसैले नेपाललाई जतिसक्दो चाँडो खेल टुंगाउने हतारो हुनेछ । यूएईलाई अलआउट गरेपछि नेपालले जितको लक्ष्य भेट्टाउनुपर्ने छ । नत्र नतिजा आउन कम्तीमा २० ओभर ब्याटिङ गर्नुपर्नेछ । त्यसबाट नतिजा नआए सुपर ओभरका लागि जानेछ । १–१ ओभरको सुपर ओभर पनि खेल्न योग्य नभएमा वरीयताका हिसाबमा उपाधिको छिनोफानो हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेटको वरीयताअनुरुप गरिने निर्णयमा उपाधि नेपालको भागमा आउने छ । नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन् । सोमबार जति खेल भयो त्यसमा नेपालको दबदबा रह्यो । नेपालले सुरुदेखि नै यूएईलाई दबाबमा राख्यो र निरन्तर विकेट लिँदै मध्यम लक्ष्य पाउन सफल भयो ।

चौथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिनेक्रम सुरु गरेको थियो । त्यसको अर्को ओभरमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा आउट गरी नेपाललाई ठूलो सफलता दिलाए ।

करणले नै आर्यन लार्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्वकप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुग्यो । आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे । यसबीच वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो । गुलशन झाको बलमा इन्साइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेल्दै १ चौकासहित १० रन बनाए ।

आयन खानलाई ५ रनमा सन्दीपले आउट गरे । ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरे । त्यसपछि खेल पुनः वर्षाले अवरुद्ध हुन पुग्यो । नेपालविरुद्ध विश्वकप लिग २ को पछिल्लो खेलमा शतक बनाएका आसिफले ५४ बलमा ४६ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे । मंगलबार खेल सुरु हुँदा कार्थिक मेइयाप्पनलाई साथ दिन जुनैद सिद्दिकी आउनेछन् ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.