Fast Nepal News

फाइनलको निर्णायक ‘मौसम’

वर्षाले नेपाल र यूएईबीचको खेल प्रभावित हुने सम्भावना

banner single news

१८ बैशाख,काठमाडौँ-एसिया कप छनोट आधार रहेकाले एसीसी प्रिमियर कप क्रिकेटको सोमबार हुने फाइनल नेपाल र यूएईका लागि बहुप्रतीक्षित हुनुपर्ने हो । मौसम प्रतिकूलताका कारण त्यो जोस र उत्साह दुवै टोलीमा देखिँदैन । न त प्रशंसकमै त्यो हतारो रहेको पाइन्छ ।

सबैको कारण एउटै छ र प्रश्न पनि त्यही छ, के फाइनल खेल होला ? खेल हुनेमा ढुक्क हुने स्थिति केही छैन । खेल नै नहुने र भएमा सुपर ओभर मात्र हुने डर र त्रास दुवै टोलीमा छ । खेल नै नहुने अवस्था रहेमा नेपाल भाग्यमानी बन्नेछ । तर सुपर ओभर भएमा दुवै टोली निश्चित हुन सक्ने अवस्था छैन ।

नेपाल र यूएईबीच सोमबार हुने फाइनल वर्षाका कारण प्रभावित हुने सम्भावना धेरै छ । शनिबारदेखि सुरु भएको वर्षा काठमाडौं उपत्यकामा निरन्तर रह्यो । जसको कारण ओमान र कुवेतबीच तेस्रो स्थानका लागि भएको खेल नतिजाविहीन भयो ।

ओमानले टस जितेपछि ब्याटिङ गर्न आएको कुवेत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३१.३ ओभरमा १ सय ३० रनमा अलआउट भयो । जवाफमा आएको ओमानले ६ ओभरमा बिनाक्षति ४१ रन बनाएको अवस्थामा वर्षाले पूरै खेल अवरुद्ध पारेको थियो । नतिजा नआएपछि वरीयताका आधारमा ओमानलाई विजयी घोषणा गरिएको थियो ।

प्रतियोगिताको शीर्ष तीन टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको ‘ए’ टोलीसँग एसीसी इमर्जिङ नेसन्स कपमा खेल्न पाउनेछन् । जसअनुरूप नेपाल र यूएईसँगै ओमान पनि इमर्जिङ नेसन्स कपका लागि छनोट भएका छन् ।

प्रिमियर कपको विजेताले एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानअनुरूप नेपाल र यूएईबीचको फाइनल प्रतिस्पर्धा उपाधिसँगै भारत र पाकिस्तान समावेश एसिया कपको समूहमा खेल्न पाउनका लागि पनि हो । तर वर्षाले सोमबार र वैकल्पिक दिन राखिएको मंगलबार पनि कुनै खेल नहुने सम्भावना बढी देखिएको छ । एकदिवसीयमा नतिजा आउन दुवै टोलीले कम्तीमा २०–२० ओभर खेल्नुपर्ने अवस्थालाई पनि मौसमले चुनौती दिइरहेको छ ।

सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ । सोमबार खेल हुन नसकेमा नतिजाका लागि सुपर ओभर खेल्नुपर्ने प्रावधान छ । त्यो पनि नभएमा खेल मंगलबारका लागि सर्नेछ । सोमबार खेल हुँदाहुँदै रोकिएको खण्डमा मंगलबारबाट पुनः सुरुदेखि खेल हुनेछ । मंगलबार पनि खेल नभएमा सुपर ओभर गरिनेछ । पहिलो सुपर ओभर ‘टाइ’ भएमा दोस्रो सुपर ओभर हुनेछ ।

सुपर ओभरका लागि पनि मैदान खेल्न योग्य नभएमा वरीयताको हिसाबमा विजेताको निर्णय हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयताअनुसार यसको निर्णय हुनेछ ।

यस्तोमा यूएईभन्दा माथि रहेका कारण नेपाल विजेता बन्नेछ । एकदिवसीय अन्तर्राष्ट्रियको विश्व वरीयतामा नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन् ।

Inside Article Ads

सेमिफाइनलमा विजयको नजिक पुगेर वर्षाले रोकिएपछि ओमान शनिबार मूलपानीमा यूएईसँग स्तब्ध भएको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनलमा पनि नतिजा आएको थिएन, जसका कारण माथिल्लो वरीयताका आधारमा नेपाल फाइनल पुगेको थियो । समूह चरणमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले टस हुन पनि दिएको थिएन । हङकङ र बहराइनबीचको खेल पनि यही हालतको थियो, जसको कारण हङकङ समूह चरणबाटै बाहिरिनुको एउटा कारण बन्यो ।

निरन्तर प्रतिस्पर्धाको शृंखला

नेपाल र यूएईबीच हुने सोमबारको फाइनल पछिल्लो ६ महिनामा खेल्न लागेको आठौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ । नोभेम्बरमा नेपालले घरेलु मैदानमा यूएईसँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो । गएको महिना नेपालले यूएईसँग विश्वकप लिग २ मा चार खेल खेल्यो । दुबईमा भएको खेलमा नेपालले एकमा विजय हात पार्‍यो भने एकमा पराजय भोग्यो । त्यसको लगत्तै यी दुई टोली काठमाडौं आएर खेल्दा नेपालले दुवै खेलमा यूएईलाई पराजित गर्‍यो ।

पछिल्लो तीन महिनामा नेपाल उत्कृष्ट लयमा रहेको छ । नेपालले १७ मध्येको १५ खेल जितेको छ । त्यसमा एकमात्र पराजय यूएईसँग नै रहेको छ । दुबईमा लिग २ को पहिलो खेलमा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

सोमबारको फाइनलले नेपाल र यूएईबीचको निरन्तर प्रतिद्वन्द्वीतालाई नवीकरण गर्नेछ । नेपाल अहिलेसम्म एसिया कपमा पुग्न सकेको छैन भने यूएईले २००४ र २००८ मा गरी दुई पटक छनोट भएर एसिया कप खेलेको छ । आईसीसीको प्रतियोगितामा राम्रो नतिजा दिँदै आए पनि एसिया कपको छनोट आधार रहेको प्रतियोगिताहरूमा नेपाल निर्णायक मौकामा चुक्ने गरेको थियो ।

‘एसिया कपमा खेल्न पाउनु हाम्रो लागि निकै ठूलो अवसर हो, त्यसमा भारत र पाकिस्तानसँग खेल्न पाउने मौका रहेको छ । त्यसैले हामीलाई फाइनल निकै महत्त्वपूर्ण छ,’ नेपालका कप्तान रोहित पौडेलले शनिबार कुवेतसँगको खेलपछि भनेका थिए, ‘यूएईसँगको फाइनल एउटा खेल हो, आफूलाई सहज रूपमा राख्न सक्नुपर्छ । दुवै टोलीलाई उत्तिकै दबाब छ, फाइनल खेलमा जसले बढी त्यो दबाब झेल्न सक्छ त्यही टोलीले उपाधि जित्ने मौका हुन सक्छ ।’

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.