Fast Nepal News

नेपालसामु कुवेती चुनौती

एसीसी प्रिमियर कप क्रिकेटमा कुवेतले जुन प्रदर्शन दिएको छ, त्यसबाट नेपाल ढुक्क हुने अवस्थामा छैन शनिबारदेखि मंगलबारसम्मको खेल वर्षाले प्रभावित हुने मौसम पूर्वानुमान छ

banner single news

१६ बैशाख,काठमाडौँ-आफ्नो समूहमा रहेका दुई बलिया टोली मलेसिया र ओमानमाथि विजय हात पारेपछि नेपालको सेमिफाइनल यात्रा औपचारिकता जस्तोमात्र बनेको थियो । यस्तोमा एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई बन्ने प्रवल सम्भावना बन्दै गएको थियो ।

साउदी अरेबियासँगको खेल वर्षाले रद्द भएसँगै सेमिफाइनलको औपचारिकतालाई पूरा गरेको नेपालले अन्तिम खेलमा कतारसँग जसोतसो जित हासिल गर्दै समूह ‘ए’ विजेता बन्यो । एसिया कपको छनोट आधार रहेको प्रतियोगिताको समूह ‘बी’ मा भने त्यसपछि धेरै परिवर्तन भए ।

हङकङसँग पराजित भएपछि यूएई प्रतियोगिताबाटै बाहिरिने खतरामा पुगेको थियो । यूएईले बाँकी दुई खेलमा सिंगापुर र बहराइनलाई पराजित गरेपछि सेमिफाइनल सुरक्षित भयो । तर, पहिलो दुई खेल जितेर बलियो सुरुआत गरेको हङकङले दुर्भाग्य बेहोर्नुपर्‍यो । बहराइनसँग खेल वर्षाका कारण गुमाएसँगै हङकङसामु चुनौती आयो ।

हङकङले कुवेतलाई पराजित गरेको भए नेपालले यूएईसँग सेमिफाइनल खेल्ने निश्चित हुन्थ्यो । विश्वकप लिग २ को अन्तिम खेललाई पुनर्ताजगी गर्दा नेपाल र यूएईबीचको यो खेल बहुप्रतीक्षित पनि हुने थियो । तर, त्यस्तो भएन । कुवेतले मूलपानी क्रिकेट मैदानमा हङकङलाई ३० रनले स्तब्ध पारिदियो ।

कुवेतको नडराउने ब्याटिङ शैलीले प्रिमियर कपको आकर्षण बढाएको छ । पहिलो खेलमा यूएईले ३ सय ७१ रनको विशाल स्कोर बनाउँदा पनि कुवेतले जवाफमा आक्रामक शैलीबाट खेल्दै २ सय २८ रन बनाएको थियो ।

एडनान इद्रिसले ३ खेलमा १ सय ३९ रन बनाएका छन् । उनको स्ट्राइक रेट १ सय १६ भन्दा माथि छ । इमाल मालिन्दु, सायेद मोनिब, यासिन पटेल, सिराज खान र मित भवसार र उस्माङ्गी इब्राहिमले अर्धशतक बनाउँदै कुवेत कुनै एक खेलाडीमा निर्भर टोली नरहेको देखाएका छन् ।

पछिल्लो तीन महिनामा बलियो प्रदर्शन गर्दै आएको नेपाललाई बिहीबार कतारले असली परीक्षा लिएको थियो । एसिया कप खेल्ने लक्ष्य बनाएको नेपाललाई कतारले १ सय ५७ रनमा अलआउट गरेको थियो ।नेपालले खेल ६८ रनले जितेको थियो ।

कतारले परीक्षा लिए पनि नेपाली टोलीमा जुनकुनै स्थितिमा एकअर्काप्रति विश्वास गर्दै आएकाले प्रशिक्षक मोन्टी देसाई त्यसलाई आगामी खेलसँग जोड्न चाहँदैनन् । कतारसँगको खेलले टोलीलाई आगामी खेलप्रति सचेत गराएको भन्दै देसाई सकारात्मक छन् ।

Inside Article Ads

नेपाली टोलीको चिन्ता ब्याटिङको ओपनिङ जोडीलाई लिएर छ । कुशल मल्लले ३ खेलमा ४० र आसिफ शेखले ३ खेलमा २० रनमात्र बनाउन सकेका छन् । एक समय प्रमुख ब्याटर रहेका दीपेन्द्रसिंह ऐरीले पनि ३ खेलमा २४ रनमात्र बनाउन सकेका छन् ।

भीम सार्की, कुशल मल्ल नेपाली ब्याटिङमा नयाँ भरोसाका रूपमा उदाएका छन् । कुशलको शतकमा नेपालले ओमानविरुद्ध ०–२ को स्थितिबाट ३ सय १० रन बनाएको थियो । मलेसियाविरुद्ध कुशलले अविजित ७१ रन बनाउदा भीमले ७० रन जोडेका थिए ।

फेरि पनि कुवेतकै प्रसङ्ग । कुवेतसँगको पछिल्ला दुई खेल नेपालले जितेको छ २००८ र २०१० मा गरी । त्यो धेरै अगाडिको हो । कुवेतसँगको पछिल्लो खेल नेपालले सायदै भुल्नेछ ।

२०१२ को एसीसी ट्रफीमा नेपालले यूएईको अल दाहिदमा ४ विकेट गुमाई २ सय ८० रन बनाएको थियो । पारस खड्काले ७७ बलमै १ सय ६ रन बनाएका थिए । पारसले नेपालबाट बनाएको पाँचमध्ये यो पहिलो शतक थियो ।

जवाफमा कुवेतले पहिलो १० ओभरमै ९० रन जोडेको थियो । कुवेतले खेल पनि ४६.२ ओभरमै जितेर नेपाललाई स्तब्ध पारेको थियो । कुवेतको ब्याटिङको यही शैली प्रिमियर कपमा देखिएको छ । ११ वर्षयता नेपालले धेरै छलाङ मारिसकेको छ । कुवेतको चुनौती पन्छाउँदै एसिया कपको यात्रामा अगाडि बढ्न नेपाली टोली तयार देखिन्छ ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

 

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.