९ बैशाख,काठमाडौँ-नेपाली क्रिकेट टोलीले शुक्रबार आफ्नो ५०औँ अन्तर्राष्ट्रिय एकदिवसीय खेल पूरा गरेर मात्रै होइन, खेलाडीहरूले व्यक्तिगत तथा अन्तर्राष्ट्रिय रेकर्ड राखेर खेललाई कीर्तिमानीपूर्ण बनाएका छन् । एसिसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको ओमानविरुद्धको खेलमा नेपाली खेलाडी चार महत्वपूर्ण रेकर्ड राख्न सफल भएका छन् । कीर्तिमानले भरिएको प्रतिस्पर्धामा नेपालले ओमानमाथि ८४ रनको सानदार जित निकाल्यो ।
नेपालले पहिलोपटक ५० ओभरको खेलमा तीन सय रनको योगफल कटाएको छ । पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने थोरै खेलमा एकदिवसीय सय विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । अलराउन्डर कुशल मल्ल नेपाली खेलाडीमध्ये सबैभन्दा छिटो शतक बनाउने खेलाडी भए । व्यक्तिगततर्फ उनले सर्वाधिक १० छक्का प्रहार गरे ।
नेपालको ५०औँ एकदिवसीय खेल
नेपालले आफ्नो ५०औँ एकदिवसीय खेल घरेलु मैदानमा ओमानविरुद्ध खेल्यो । सन् २०१८ मा आइसिसीले नेपाललाई एकदिवसीय मान्यता प्रदान गरेको थियो । एकदिवसीय राष्ट्र भएकै वर्ष नेपालले नेदरल्यान्ड्ससँग सिरिज खेल्यो । १ अगस्ट २०१८ मा भएको आफ्नो पहिलो एकदिवसीय खेलमै नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । पारस खड्काको कप्तानीमा रहेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले ५१ रन बनाएका थिए । नेपालको ऐतिहासिक पहिलो एकदिवसीय खेलमा वसन्त रेग्मी, शरद भेसवाकर र शक्ति गौचनले राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका छन् । अनिल शाह टोलीबाहिर छन् । विनोद भण्डारी, सुवास खकुरेल, सुशान भारी, अभिनाश बोहरा पनि राष्ट्रिय टोलीबाट बाहिर छन् । ज्ञानेन्द्रसँगै, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने नेपालको ५०औँ खेलमा उपलब्ध छन् ।
कम उमेर र कम बलमा कुशलको शतक
१९ वर्षीय ब्याट्सम्यान कुशल मल्लले ओमानविरुद्ध करिअरकै पहिलो शतक प्रहार गरेका छन् । कुशलले केवल ५९ बलमा शतकीय इनिङ्स खेले । समग्रमा उनले १० छक्का र नौ चौका प्रहार गरे । ओमानविरुद्ध एक सय आठ रन जोडेका उनी इनिङ्सको ४०.४ ओभरमा आउट भए । खेलको म्यान अफ दी म्याच कुशल नेपालका लागि थोरै बलमा शतक बनाउने पहिलो खेलाडी हुन् । नेपाली खेलाडीमध्ये धेरै छक्का प्रहार गर्ने खेलाडी पनि उनी बनेका छन् । यसअघि नेपालका लागि एकदिवसीय खेलमा छिटो शतक कप्तान रोहितकुमार पौडेलले बनाएका थिए ।
पौडेलले सन् २०२२ मा पिएनजीविरुद्ध ९१ बलमा शतक पूरा गरेका थिए । कुशल मल्ल शतक बनाउने छैटौँ नेपाली खेलाडी हुन् । उनीअघि कप्तान रोहित, पारस खड्का, कुशल भुर्तेल, आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए । कुशलले सन् २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध डेब्यु गरेका थिए । नेपाल ३५ रनले विजयी हुँदा कुशलले डेब्यु खेलमै ५१ बलमा ६० रन र एक विकेटसमेत लिएका थिए । कुशलले २१ एकदिवसीय खेलमा चार अर्धशतक बनाएका छन् ।
नेपाल ७२/४ को कमजोर अवस्थामा रहँदा क्रिजमा उत्रिएका कुशलले केवल २९ बलमा ६ छक्का र चार चौकाको सहयोगमा ५० रन पूरा गरे । कुशलले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ७५, दीपेन्द्रसिंह ऐरीसँग छैटौँ विकेटका लागि २५ तथा सोमपाल कामीसँग सातौँ विकेटका लागि ४९ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याए ।
पहिलोपटक नेपालले कटायो तीन सयको योगफल
ओमानविरुद्ध खेल्नुअघि नेपालले एकदिवसीय खेलमा तीन सय रनको योगफल कटाएको थिएन । यसअघिका ४९ एकदिवसीय खेलसम्म नेपालको सर्वाधिक योगफल नै पपुवा न्युगिनीविरुद्ध दुई सय ९७ रन थियो । तर, आफ्नो ५०औँ एकदिवसीय खेल खेलेको नेपालले स्कोर बोर्डमा समेत रेकर्ड बनायो । नेपालले ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय १० रनको योगफल बनायो । यो नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक ठूलो योगफल हो । नेपालले गत मार्चमा त्रिवि मैदानमै पपुवा न्युगिनी (पिएनजी)विरुद्ध सर्वाधिक दुई सय ९७ रन बनाएको थियो । यसैगरी नेपालले आफ्नो पाँच वर्षको एकदिवसीय यात्रामा नामिबियाविरुद्ध दुई सय ८७, पिएनजीविरुद्ध दुई सय ८६ र नामिबियाविरुद्ध दुई सय ७८ रन बनाएको थियो ।
प्रतिस्पर्धामा नेपालले इनिङ्सको २२औँ बलमा एक रन बटुलेको थियो । भीम सार्कीले नेपालको स्कोर बोर्डमा रन चढाएका थिए । ओपनर कुशल भुर्तेल आठ बल र १० बल खेलेका आसिफ शेख शून्यमा आउट भए । दुवै ओपनर गुमाउँदासम्म पनि नेपालको स्कोर बोर्डमा शून्य रन नै थियो । भीम र कप्तान रोहितकुमारले ५४ रनको साझेदारी गर्दै नेपाललाई लयमा फर्काएका थिए । भीमले ५६ बलमा ३३ रन बनाए । रोहितले ३४ रनको योगदान गरे । सोमपाल कामीले ४८ बलमा ९ चौकासहित ६३ रनको योगदान गरे ।
सोमपालले एकदिवसीय खेलमा दोस्रो अर्धशतक बनाएपछि नेपालले तीन सय रनको योगफल कटाएको हो । आरिफ र कुशलले ७५ रनको साझेदारी गरे । कुशलले सोमपालसँग ४९ रनको साझेदारी गरे । यसैगरी सोमपाल र करणले नवौँ विकेटका लागि ६१ रनको अविजित साझेदारी गरे । आरिफ र करणले समान २९ तथा रोहितले २३ रन जोडे । लक्ष्य पछ्याएको इनिङ्समा ओमान ४६.३ ओभरमा २२६ रनमा अलआउट भयो । ओमानका मोहम्मद नदिम र सन्दीप गोउडले ९६ रनको साझेदारी गरेका थिए । नदिमले सर्वाधिक ६५ रन बनाए ।
जित निस्कनेमा आत्मविश्वास थियो : करण केसी
ओमानविरुद्ध सबैले राम्रो खेले । सुरुमै दुई विकेट जाँदा अलि दबाब थियो । तर, पुनरागमन गर्छाैँ भन्ने विश्वास थियो । हाम्रो लक्ष्य एसिया कप हो । यस्तो खेल जित्न साझेदारी नै महत्वपूर्ण हुन्छ । त्यसैले तीन सय बनाउन सफल भयौँ । विकेट राम्रो हुँदा लक्ष्य निकै माथि रहन्छ भन्ने थियो । सुरुमा हामीहरूको लक्ष्य दुई सय ६० रन दिने थियो । तर, साझेदारी राम्रो हुँदा धेरै रन बन्यो । पाकिस्तान र भारतसँग खेल्ने योजना बनाएपछि सेमिफाइनलमा जुनसुकै टोली प्रतिस्पर्धी भए पनि हामी खेल्न तयार छौँ ।
सन्दीपको विश्वकीर्तिमान
लेग स्पिनर सन्दीपले एकदिवसीय इतिहासमै थोरै खेलमा सय विकेट लिने विश्वकीर्तिमान बनाएका छन् । सन्दीपले ओमानसँगको खेलमा १२.३ ओभरमा आदिल सफिकलाई एलबिडब्लू धरापमा पार्दै एकदिवसीय खेलमा सय विकेट पूरा गरेका हुन् ।
सन्दीपले ४२ खेलमा एक सय दुई विकेट लिएका छन् । समग्रमा उनले ओमानविरुद्ध तीन विकेट लिए । यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा सो सफलता हासिल गरेका थिए ।
रसिदले ४४ खेलमा सय विकेट लिएका थिए । रसिदको विश्वकीर्तिमान पाँच वर्षपछि सन्दीपले तोडे । एकदिवसीय खेलमा अस्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेल खेल्दै सय विकेट लिएका थिए । २०१८ अगस्टमा सन्दीपले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।
१० ओभर बलिङ गरेका सन्दीपले नेदरल्यान्ड्सका ओपनर स्टेफनको विकेट लिए । सन्दीपले एकै इनिङ््समा सर्वाधिक ६ विकेट लिएका छन् । १० सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीवरुद्ध ५.१ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ६ विकेट लिँदै दुर्लभ प्रदर्शन गरेका हुन् ।
समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।