
काठमाडौँ – ११ बैशाख २०७९
काठमाडौँ, घरेलु मैदानमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्कका गरेकाे हाे । पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५, २०१६, २०१८, २०१९, २०२० र २०२२ मा उपाधी जित्न सफल भएको छ।
खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै १० खेलाडीमा सिमित लेन्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । बराबरीसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । लेन्स ५४ अंक जोडेर सातौ स्थानमा छ । यसै सिजन बार्सिलोना छाडेर पेरिस झरेका लियोनल मेस्सी र सर्जियो रामोसको यो पहिलो फ्रेन्च लिग उपाधी हो ।
बायर्नलाई लगातार १०औँ पटक बुन्डेसलिगाको उपाधि
बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२औँ उपाधि जित्न सफल भयो । बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे ।
डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए । जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ । दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अंक छ । सन् २०१२-१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।
