
बिर्तामोड — १० चैत्र २०७८
बिर्तामोड , दमकमा बुधबार सुरु दमक गोल्डकप फुटबल प्रतियोगितामा वाग्मती युथ क्लब सर्लाही विजयी भएको छ । दमक नगरपालिकाको आयोजनामा सुरु गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक ११ लाई १–० ले पराजित गर्दै वाग्मती क्वाटरफाइनल पुगेको छ । दमक–३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी रंगशालामा वाग्मतीको जित पेनाल्टी सहयोगमा सम्भव बन्यो । ८८ औं मिनेटमा दमकका खेलाडीले विदेशी खेलाडी जमोललाई बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टी अवसरमा वाग्मतीका अनिल रानामगरले गोल गरेका थिए । वाग्मतीले अग्रता लिने अवसर खेलको आठौं मिनेटमा गुमायो । दमकका गोलकिपर प्रिन्स श्रेष्ठ बिट भएको अवस्थामा सुमन चाम्लिङ राईले दोस्रो बार च्यापेर गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
११ औं मिनेटमा बक्सभित्रबाट दमकका गिल्सन कन्दङ्वाले गरेको कडा प्रहारले पोस्टको दिशा लिन सकेन । दमकका माल्दिना आङथुपोले १७ औं मिनेटमा गरेको कडा प्रहार वाग्मतीका गोलकिपर मनोज प्रधानले पञ्च गरेर फर्काए । वाग्मतीका अनिल रानामगरले २३ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा भलीमा पोस्टतर्फ अघि बढाएको बल नजिकैबाट बाहिरियो । ४७ औं मिनेटमा दमकका रोशन धिमालले करिब ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार वाग्मतीका गोलकिपर मनोजले हातबाट फुत्काए पनि बलले पोस्टको दिशा भने लिएन । वाग्मतीका दिवा गुरुङको कडा प्रहार ५४ औं मिनेटमा पोस्ट नजिकैबाट बाहिरियो । विमल घिसिङले एक्लै अघि बढाएको बल दमकका गोलकिपर प्रिन्सले अघि बढेर नियन्त्रण लिए । जतिबेला ६६ औं मिनेटमा खेल चलिरहेको थियो ।
वाग्मतीका गोलकिपर मनोज प्रधान प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । चैत १८ सम्म चल्ने दमक गोल्डकपमा ४ विदेशीसहित १० टिमको सहभागिता छ । विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ ७ खेलाडीलाई पुरस्कृत गर्ने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागार्इंले जानकारी दिए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २१ हजार रुपैयाँ पाउनेछन् ।
