
काठमाडौँ — ०२ चैत्र २०७८
काठमाडौँ , नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा पहिले फिल्डिङ पपुवा न्यु गिनीविरूद्ध गर्ने भएको छ । बुधबार शारजहाँ क्रिकेट मैदानमा टस जितेको पपुवा न्यु गिनीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो पीएनजीविरूद्धको खेल सन्दीप लामिछानेको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेको पहिलो खेल हो । सन्दीपको कप्तानीमा नेपालले पहिलो पटक गत महिना ओमानमा ट्वान्टी–२० विश्वकप छनोटमा खेलेको थियो र यूएई भ्रमणबाट त्यसले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि निरन्तरता पाइरहेको हो । नेपालबाट सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्दैछन् ।
गत महिना उनले ओमान भ्रमणबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । सागर र सन्दीपले नेपालको स्पिन मोर्चा सम्हाल्ने छन् । नेपाली टोलीको प्लेयिङ ११ मा सन्दीप र सागर सहित कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल आसिफ शेख, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् । कोभिड–१९ महामारीका कारण प्रभावित बनेको लिग २ को तालिकामा नेपालले २०२० को फेब्रुअरीपछि २०२१ को सेप्टेम्बरमा अर्को शृंखला खेलेको थियो । २०२० मा काठमाडौंमा अमेरिका र ओमानलाई नेपालले निमत्याएको थियो । कीर्तिपुरमा नेपालले अमेरिकासँगको दुवै खेल जितेको थियो भने ओमानसँगको दुवै खेल हारेको थियो ।
२०२१ मा ओमान भ्रमणमा नेपालले ओमान र अमेरिकासँगको १–१ खेलमा विजय हात पारेको थियो भने अर्को १–१ खेलमा हार बेहोरेको थियो । पपुवा न्यु गिनी लिग २ को पुछारको टोली हो । टोलीले खेलेका सबै १३ खेलमा पराजय भोगेको छ । नेपालले ८ मध्येको चार खेलमा जित र ४ खेलमा हार बेहोरी ७ राष्ट्रसम्मिलित लिग २ को अंक तालिकामा पीएनजीभन्दा माथि मात्र रहेको छ । पपुवा न्यु गिनी अघिल्लो दिन यसै शृंखलामा घरेलु टोली यूएईसँग ७ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार र सोमबार यूएईसँग दुई खेल खेल्ने छ ।
