
महोत्तरी —३० फागुन २०७८
महोत्तरी , प्रथम बर्दिवास मेयर गोल्डकप फुटबलमा आइतबार सहलेस सिराहाले तालतलैया सुनसरीलाई ५–० ले पराजित गरेको छ । उद्घाटन खेलमा विजय युथ क्लब मकवानपुरलाई हराउँदै अघि बढेको तालतलैया सुनसरी आइतबारको हारसँगै बाहिरिएको छ । सहलेसले भने सिन्धुली डकाहालाई हराएको थियो । सहलेसका अर्मानले ह्याट्रिक गरेका थिए । त्यसमा रुपक लामा र रितिक खड्काले १–१ गोल थपेका थिए ।
खेलको ३१ औं मिनेटमा पहिलो गोल गरेका अर्मानले ६३ र ६६ औं मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरे । त्यसअघि रूपकले ५७ औं मिनेटमा एक गोल गरेका थिए । ७४ औं मिनेटमा रितिकको गोलसँगै सहलेसले एकपक्षीय जित निकाल्यो । अर्मान म्यान अफ द म्याच घोषित भए । उनलाई बर्दिवास आयोजक नगर खेलकुद विकास समितिले २ हजार ५ सय रुपैयाँ प्रदान गर्यो । सोमबार बर्दिवास ११ र नवप्रतिभा क्लब गोलबजारबीच खेल हुनेछ । सहलेसले चैत २ मा सोमबारको विजेतासँग खेल्नेछ ।
( कान्तिपुर दैनिक )
