Fast Nepal News

गोल्डकप र झापाली क्रेज

banner single news

बिर्तामोड — ३०  फागुन २०७८

बिर्तामोड , खेल तोकिएको थियो सवा ३ बजे । तर, १ बजे नै चर्को घाममै दर्शक लाइन लाग्न तम्तयार थियो । खेल सुरु हुन एक घण्टा बाँकी नै थियो, बाइक पार्किङस्थल भरिहाल्यो । बाँसको प्यारापिटमा दर्शक खचाखच भइसक्यो । उभिने र भुइँमा बस्ने सिटमात्रै बाँकी रह्यो । मञ्चमा अथितिको उपस्थितिले सोफा र कुर्ची खाली नै रहेन । झापा गोल्डकपको दोस्रो सेमिफाइनलमा डोमालाल रंगशालाका यी दृश्यले यहााको फुटबल क्रेज कस्तो छ भन्ने छर्लंगै देखाउँछ । खेलपछि खेलाडीहरू भेट्न र सेल्फी लिन कुरेका दर्शकको भीड कम थिएन । झन्डै दुई दशकअघि मेची रंगशाला (चन्द्रगढी) मा भएको त्रिभुवन च्यालेन्ज कपको माहोल पनि उस्तै थियो । फरक यति हो कि प्रविधिको तीव्र विकाससँगै अटोग्राफलाई मोबाइल सेल्फीले विस्थापित गर्‍यो, साइकलको लस्करमा घण्टौं धाएर रंगशाला आउनेको बाटो बाइकले छोट्याइदियो । फुटबलप्रतिको झापाली मोह र लगाव भने बढिरहेकै छ । त्यसैले हुनसक्छ, प्रभावशाली विंगर र अनुशासित खेलाडीको पहिचान बनाएका नवीन न्यौपाने २० वर्षे खेलजीवनमा निकै सफल भए ।

उनको ६ वर्षयता प्रशिक्षक करिअरको ग्राफ उँचो नै छ । राजधानीका उनी झापाली टिमबाट कहिल्यै खेलेनन्, न यहाँको टिम नै सम्हाले । तर, उनी मान्छन्, ‘झापा हाम्रो घरेलु मैदान नै हो । यहाँ जहिले खेल्छौं, जति खेल्छौं, राम्रो खेल्छौं ।’ काठमाडौंका यी फुटबलरलाई आखिर झापा किन आफ्नो लाग्छ त ? ‘देशकै सबैभन्दा राम्रो व्यवस्थापन भएको प्रतियोगिता हो,’ न्यौपानेले भने, ‘झापा गोल्डकप कुन स्तरको छ भन्ने मैदानबाटै थाह हुन्छ । यहााकै जस्तो उच्चस्तरको मैदान भयो भने त खेलाडीले राम्रो खेल देखाउन सक्ने हो, दर्शकले उत्कृष्ट खेल हेर्न पाउने हो ।’ उनी अहिले आर्मी टिम सम्हाल्दै झापा आइपुगेका हुन् । उनको टिमले गोल्डकपको फाइनलमा झापाविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दै छ । आर्मी उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ भने घरेलु टिम पााचौं फाइनल खेल्दा पहिलोपल्ट ट्रफी चुम्ने लक्ष्यमा छ । मनाङ र मछिन्द्रबाट लगातार चारपल्ट ‘ए’ डिभिजन लिग जितेका विशाल राईले झापा ११ को कप्तानी गरिरहेका छन् ।

उनलाई ‘आर्मब्यान्ड’ ले निकै ठूलो जिम्मेवारी दिएजस्तो भएको छ र उत्तिकै दबाब पनि महसुस गराएको छ । उनलाई झापा गोल्डकपमा सधैं फाइनल खेलेको टिम कतै पहिला नै चिप्लिने पो हो कि भन्ने डर थियो । नहोस् पनि किन ? राष्ट्र्रिय टिमबाट एएफसी सोलिडारिटी कप, दक्षिण एसियाली खेलकुद (यू–२३) र बंगबन्धु गोल्डकप विजेता टिमका महत्त्वपूर्ण सदस्य विशालले झापाली भएर पनि पहिलोपल्ट घरेलु टिमबाट खेल्ने अवसर पाएका हुन् । उनीसहित ए डिभिजन लिगको उपाधि रक्षा गरेको मछिन्द्रका २४ मध्ये ७ खेलाडी झापाली हुन् । च्याम्पियन प्रशिक्षक प्रवेश कटुवाल झापाकै भइहाले । देशकै पहिलो फ्रेन्चाइज टिमको नेपाल सुपर लिग (एनएसएल) का १० टिममध्ये तीन टिमका मार्की खेलाडी झापाली (विशाल, देवेन्द्र तामाङ र अनन्त तामाङ) हुन् । डिफेन्डर अनन्त गत सातामात्रै इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली भएका थिए ।

एनएसएलका दुई टिमका मुख्य प्रशिक्षक झापाली नै हुन्, युगलकिशोर राई (धनगढी एफसी) र प्रवेश (ललितपुर सिटी) । युगलले ए डिभिजन लिगमा हिमालयन शेर्पा सम्हालेका थिए । राष्ट्रिय टिममा आफूलाई सिद्ध गरिसकेका रामदर्शन गुरुङदेखि हरि खड्का, सन्देश श्रेष्ठ, गम्भीर राई, अनिल सुब्बा, प्रवेश, युगल, घरेलु फुटबलमा चम्किएका कर्ण लिम्बु अनि विशाल, देवेन्द्र, पुजन उपरकोटीदेखि अनन्तसम्मका पुस्ताले नेपाली फुटबलमा झापाली प्रभाव कायमै राखेका छन् । भारतीय टिमका कप्तान सुनील क्षेत्रीको नेपाल सम्बन्ध पनि झापाली नै हो । यसले नेपाली फुटबलका लागि झापा कति उर्वर छ भन्ने प्रस्टै देखाउँछ । त्यसैले विशाललाई झापाको कप्तानी गहन लाग्नु स्वाभाविक हो ।

बिर्तामोड सरेको केन्द्र

झापा गोल्डकप २०७२ सालमा सुरु भएको थियो । महामारीले तीन वर्ष धकेलिएर पाँचौं संस्करण भइरहेको हो । २० लाख ६० हजार र दुईटा बाइक पुरस्कारको यो गोल्डकपले झापामा नयाँ अध्याय थालेको हो । पञ्चायतकालमै यहाँ त्रिभुवन च्यालेन्ज कप देशकै प्रतिष्ठित प्रतियोगिता थियो । रोलिङ च्यालेन्ज कप पनि खुबै जम्यो । मेयर कप, काकडभिट्टा, झापा, दमक, शिवसताक्षी गोल्डकप पनि भए/भइरहेका छन् । यसमा विशेष साबित भयो झापा गोल्डकप । मुकाम चन्द्रगढीपछि धुलाबारी, शनिश्चरे, सैनिकमा झापाको फुटबल माहोल राम्रो थियो । मुनाल क्लब (चन्द्रगढी), रोलिङ क्लब (धुलाबारी) र डाइनमाइट (सैनिक) चर्चित थिए । अहिले उनीहरूलाई बिर्तामोड, काँकडभिट्टा, दमक, झिलझिलेले उछिनेको छ । झापा गोल्डकपको आयोजनासँगै झापाली फुटबलको केन्द्र बिर्तामोड बनेको छ ।

Inside Article Ads

जिल्लामा स्थानीय राष्ट्रियस्तरका गोल्डकप आयोजनामै प्रतिस्पर्धा चल्ने गरेको छ, प्रदेश र स्थानीय स्तरका प्रतियोगिता त अनगिन्ती नै छन् । १५ वटा स्थानीय तहका वडा–वडामा फुटबलका गतिविधि निरन्तर चलिरहेकै हुन्छ । राजमार्ग विस्तारसँगै झापाको ‘बिजनेस हब’पनि भएको छ बिर्तामोड । यहाँको फैलँदो व्यवसायले फुटबललाई प्रत्यक्ष फाइदा गरेको छ । त्यसैले महामारीले ल्याएको आर्थिक संकटमा पनि एक करोड ४० लाख बजेटको गोल्डकप सम्भव भयो । झापाविरुद्ध संकटाको खेलपछि गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेत जोसिए, ‘एउटै खेलको टिकटबाटै ८ लाख ५० हजार उठाइयो । फाइनलमा २५ लाख उठाउने हो । यसपालि १ करोड बचाउने हो ।’ यो पाँचौं संस्करणमा टिकट बिक्रीबाटै ५० लाख रुपैयाँ उठाउने लक्ष्य छ । एक लाखदेखि ११ लाखसम्मका २८ वटा प्रायोजक छन् । सदस्यता शुल्कबाटै ५० लाख बढी संकलन भएको छ ।

फेरियो सोच

६ वर्षअघि राष्ट्रिय लिगमा प्रभाव देखाएको झापा ११ फुटबल क्लबले राजधानीको सहिद स्मारक सी डिभिजन लिग खेल्यो । अहिले नयाँ सिजनको तयारी गरिरहेको छ । गत सिजन झापाका चार क्लबले सी डिभिजन लिगको छनोट खेलेका थिए । त्यसैमध्ये एक झापा एफसी एनएसएलको नयाँ टिम बनेको छ । प्रदेश लिग च्याम्पियन सैनिक युवा क्लब यहींकै हो । झापा जिल्ला फुटबल संघमा १९ क्लब आबद्ध छन् । तर, सबै क्लब उत्तिकै सक्रिय छैनन् । झापा ११ फुटबल क्लबका अध्यक्ष हुन्, जलकुमार गुरुङ । यो क्लबले बिर्तामोडमै दुई बिघा जग्गा लिजमा लिएर एकेडेमी सञ्चालनका लागि मैदान तयार गरिरहेको छ ।

झापा गोल्डकपको संस्थापक अध्यक्षसमेत रहेका उनी गोल्डकपको आयोजनासँगै फुटबलप्रति स्थानीयको सोच नै फेरिएको बताउँछन् । उनी मान्छन्, सबै झापाली फुटबलप्रति सकारात्मक छन् । यहाँका केही प्रतियोगिताले वर्षौंसम्म पुरस्कार रकम नदिँदा झापाको बदनाम पनि भएको छ । तर, झापा गोल्डकप जिल्लामा मात्रै होइन, देशकै विशेष ब्रान्डको रूपमा स्थापित भइसकेको छ । उनीपछि होम पाण्डे र महेन्द्र गिरिले गोल्डकपको नेतृत्व गरे । अहिले विनोद बस्नेतले नेतृत्व गर्दासम्म गोल्डकपले निरन्तर उचाइ लिइरहेको छ । गोल्डकप भइरहेको मैदानलाई रंगशालामा रूपान्तरण गर्ने झापाली चाहना छ । झापाली फुटबलको भविष्य पनि त्यही सुविधासम्म रंगशालाकै योजनामा निर्भर छ ।

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.