
विराटनगर — २२ फागुन २०७८
विराटनगर , महिला क्रिकेट विकास गर्न अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रथम इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता शनिबार सुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा बैजनाथपुर क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिताको पहिलो दिन मोरङ र झापा विजयी भए । मोरङले मधेश प्रदेशको सप्तरीलाई १ सय ५१ रनले हरायो । टस जितेको मोरङले २० ओभरमा १ विकेट गुमाई १ सय ९४ रन बनायो । प्लेयर अफ द म्याच सिर्जना राजवंशीले अविजित ६२ रन बनाउँदा सानु राजवंशीले ४५ र टीका साहले अविजित ४३ रनको योगदान दिए ।
सप्तरीकी सिर्जना चौधरीले १ विकेट लिइन् । १ सय ९५ रनको लक्ष्य पछ्याएको सप्तरीले १४.१ ओभरमै ४३ रनमा अलआउट भयो । सप्तरीका कुनै ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । मोरङकी कप्तान अंशु जैसवालले एक्लैले ५ विकेट लिइन् । उनले ३ ओभरमा १ मेडन राख्दै ३ रनमात्र दिइन् । दोस्रो खेलमा राष्ट्रिय खेलाडीले भरिएको झापाले सुनसरीलाई ९१ रनले पराजित गर्यो । टस जितेको झापाले २० ओभरमा ३ विकेट गुमाई १ सय ४० रन बनायो । काजोल श्रेष्ठले ३५ रन बनाइन् भने ललिता राजवंशी ११ रनमा अविजित रहिन् । सुनसरीकी नुमा लिम्बुले २ विकेट लिइन् ।
१ सय ४१ रनको लक्ष्य पाएको सुनसरीले १८.२ ओभरमा अलआउट हुँदा ४९ रनमात्र जोड्न सक्यो । सुनसरीबाट एन्जल दोर्जेले र सपना साहले समान ११ रन बनाए । एन्जल अविजित रहिन् । प्लेयर अफ द म्याच झापाकी अप्सरी बेगमले ३ विकेट लिइन् । आइतबार सप्तरी र सुनसरी तथा झापा र मोरङबीच खेल हुनेछ । फागुन २४ सम्म हुने चल्ने प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ, सुनसरी र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सहभागी रहेको फाउन्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए । लिगका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् ।
( कान्तिपुर दैनिक )
